मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आचरण विपरीत काम गर्ने ३६ प्रहरीमाथि कारबाही

आचरण विपरीत काम गर्ने ३६ प्रहरीमाथि कारबाही


पर्सा । सङ्गठनको आचरणविपरीत काम गर्ने ३६ जना प्रहरीमाथि विभागीय कारबाही भएको छ । 
 
सङ्गठनको मर्यादाविपरीत कार्य गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले एकजना प्रहरी नायब निरीक्षकलाई बर्खास्त गर्नुका साथै अन्य ३५ जना प्रहरीलाई विभागीय कारबाही गरेको हो । 
 
आव २०७२/७३ को साउनदेखि चैतसम्मको नौ महिनामा मर्यादाविपरीत कार्य गरेको पाइएका २५ सिपाही, सात हवल्दार, दुई प्रहरी सहायक निरीक्षक र दुई प्रहरी नायब निरीक्षकलाई कारबाही गरिएको जिप्रका पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
 
उहाँले जनताको जीउधनको रक्षाका लागि खटिने सुरक्षाकर्मी चरित्रवान् हुन आवश्यक रहेकाले सङ्गठन सुदृढीकरणको अभियानअन्तर्गत नै पर्सामा ३६ जनालाई कारबाही गरिएको बताउनुभयो । 
 
सङ्गठनको मर्यादा विपरीत कार्य गरेको पाइएपछि एकजना प्रहरी नायब निरीक्षकलाई जागिरबाट बर्खास्त गरिएको छ । साथै चारजनाको पदोन्नति रोक्का, २२ जनालाई नसिहत र अन्यको ग्रेड रोक्का गरिएको जिप्रका पर्साले जनाएको छ । अत्यन्त गम्भीर प्रकृतिको गल्ती गरेकालाई जागिरबाट हटाइएको जिप्रकाको भनाइ छ । रासस