मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रत्ननगरको सडकमा धुलोको सकस

रत्ननगरको सडकमा धुलोको सकस


चितवन । पूर्वपश्चिम राजमार्गको नारायणगढ–लोथर सडकखण्डअन्तर्गत रत्ननगर बजारमा सडक भत्किएर धुलाम्मे भएको छ । व्यापार व्यवसाय प्रभावित छ । धुलोकै कारण स्थानीय बिरामी भएका छन् । जनजीवन प्रभावित भएको छ । नारायणगढ जोड्ने लोथर ३३ किमि राजमार्ग खण्ड बिजोग छ । त्यसमा पनि रत्ननगर टाँडीको सडकको स्थिति झनै पीडादायी छ । सयौं खाल्डाखुल्टीले सडकमा सकस छ । 
 
सडक डिभिजन कार्यालयले सडक भत्केको तीन वर्ष हुँदा पनि मर्मत नगरेका कारण समस्या आएको हो । सडकमा उडेको धुलोले पैदलयात्री र बजारमा किनमेल गर्न आउनेको संख्यामा ८० प्रतिशतले कमी आएको व्यवसायीहरु बताउँछन् ।  
 
रत्ननगरको निपनीदेखि लौरीघोलसम्मको सडकमा पनि प्रशस्त खाल्डाखुल्टी छन् । सडकमा ठूला खाडल परेका कारण सवारी साधन आवतजावत गर्न मुस्किल छ । सडक भत्केर उडेको धुलोले यहाँ चौतर्फी असर पुगेको छ । धुलोले राजमार्गसँग जोडिएका घरमा बस्नै नसक्ने अवस्था छ । 
‘धुलोले बस्नै नसक्ने अवस्था भयो’ नागरिक सरोकार मञ्च रत्ननगरका अध्यक्षले भने, ‘यहाँको व्यापार व्यवसाय चौपट भयो ।’ उनले धूलोकै कारण बालबालिका र वृद्धाहरु बिरामी पर्न थालेको बताए । 
 
टाँडी बजार क्षेत्रमा चारलेन  सडक बनाउन सुरू गरिएको छ । चारलेन सडकअन्र्तगत सडकको दाँयाबाँया ढल निर्माणको काम भइरहेको छ । ढल निर्माणको लागि खनेको माटो र सडक छेउमा राखिएको निर्माण सामग्रीका कारण अझ बढी धूलो उडेको छ । सडकमा ठूला खाडल छन् ।
 
‘साँघुरो सडकमा धूलो उडेर टाँडी बजार क्षेत्र दिउँसै अँध्यारो हुन्छ’ स्थानीय व्यवसायी राजु मालाकारले भने, ‘आजकल धुलोकै कारण व्यापार घटेको छ ।’ उनले धूलोका कारण यस क्षेत्रमा बस्नै नसक्ने अवस्था रहेको बताए । हेटौडाको श्रेष्ठ कन्सट्रक्सन प्रालिले ठेक्का सम्झौता गरी चारलेन सडक
 
निर्माणको काम सुुरू गरिसकेको हो । 
निर्माण कम्पनीले डेढ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी सडक डिभिजन कार्यालयसँग सम्झौता गरेको छ । तर, अत्यधिक धूलो उडेका कारण स्थानीय र व्यापारीहरु डेढ वर्षसम्म धैर्य गर्न नसक्ने अवस्था रहेको मालाकारले बताए । निर्माण कार्य सुरू गरिएको तीन महिनामा अहिलेसम्म २५ प्रतिशत काम भइसकेको श्रेष्ठ कन्सट्रक्सन प्रालिका सव इन्जिनियर दिपेन्द्र खातीले जानकारी दिए । 
 
चारलेन सडकअन्र्तगत ढल निर्माणसँगै सौराहाचोक र टाँडी बजार जोडने पुलनजिक कल्भर्ट निर्माणको काम भइरहेको उनले बताए । ढल र पर्खाल निर्माणको काम सकेर अन्य काम गर्ने योजना रहेको उनले सुनाए । ढल र पर्खाल निर्माणको काम सकिएपछि मूल सडक भत्काएर माटोको सतह मिलाउने (सवग्रेट) काम सुरू हुनेछ । रत्ननगरको निपनीदेखि लौरीघोलसम्म सरकारले राष्ट्रिय आयोजनाअन्र्तगत टाँडी बजारमा पहिलो पटक चारलेन सडक निर्माण गर्न लागेको हो । 
 
भत्केको सडक तीन वर्षसम्म नबनेर सास्ती खेप्दै आएका स्थानीयबासीलाई तत्काल सडक नबने धैर्यताको बाँध फुटन सक्ने अवस्था छ । स्थानीयवासी र निर्माण समितिको सहयोग पाए छिट्टै काम सक्ने र जनतालाई राहत दिने योजनामा कम्पनी रहेको सव इन्जिनियर खातीले बताए । ‘राम्रो र गुणस्तरीय बनाउनकै लागि केही समय ढिला भएको हो’, उनले भने, ‘तपाइँ स्थानीयहरु अब केही दिन धैर्य गरिदिनुहोस् ।’