नेपाल

डा. भुर्तेल ३५ लाख धरौटीमा छुटे

डा. भुर्तेल ३५ लाख धरौटीमा छुटे


चितवन । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. केशवराज भुर्तेललाई विशेष अदालतले ३५ लाख धरौटी माग गरेको छ । 
 
बुधबारको आदेशले उक्त रकम माग गरेको हो । डा. भुर्तेल इन्भेष्टमेन्ट बैंकको बैंक ग्यारेन्टी राखी छुटेका विशेष अदालतका सूचना अधिकृतले जानकारी दिएका छन् । भुर्तेलविरुद्ध विशेष अदालतमा अख्तियारले मंगलबार मुद्दा दर्ता गरेको छ । विशेष अदालतमा गत वैशाख ८ गते मुद्दा दर्ता भएको थियो । 
 
सार्वजनिक पदमा रहँदा गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा डा. भुर्तेलविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको हो । दुई करोड ६३ लाख ५२ हजार ६६८ रुपैयाँ विगो माग गर्दै मुद्दा दर्ता भएको हो । आधा दर्जन आरोप थुपार्दै उनीविरुद्ध मुद्दा दायर भएको हो । विशेष अदालतका न्यायाधीश मोहनरमण भट्टराई र न्यायाधीश प्रभा बस्नेतको इजलासले आदेश गरेको हो । 
 
अस्पताल भवन निर्माण गर्ने ठेकेदारसँग रकम असुल गरी कच्ची भवन बनाएको, स्टोरमा हुने सामान र उपकरण खरिदमा नाजायज फाइदा लिएको, कलेजको जग्गा भाडामा दिई आफूलाई गैरकानुनीरुपमा फाइदा र अस्पताललाई हानी नोक्सानी गराएको, आफ्नो शेयर रहेको मौला कालिका अस्पतालमा पाठेघरको अप्रेसनमा गैरकानुनीरुपमा रकम असुल गरेको आरोप डा. भुर्तेललाई लागेको छ ।
 
भ्रष्टाचार निवारण ऐनको दफा २० को उपदफा (२) अनुसारको जरिवाना र कैद सजाय हुन साथै भ्रष्टाचार गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत गरी पाउँ भनी मुद्दा दायर भएको हो ।
 
चितवन मेडिकल कलेजमा ६७ लाखको शेयर, काठमाडौंको कलंकीमा बंगला, गंैडाकोट र रजहर एवं चितवनका विभिन्न ठाउँमा समेत चल अचल सम्पति जोडेको अख्तियारको आरोप छ ।
 
डा. केशवराज भुर्तेलले भरतपुर अस्पताल, चितवन समेतका विभिन्न सरकारी अस्पतालमा कार्यरत रही सार्वजनिक पदमा बहाल रहँदा आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग एवम् भ्रष्टाचार गरेको आरोप छ । डा. भूर्तेलको श्रीमती रुक्मणी भूर्तेललाई पनि प्रतिवादी कायम गरिएको छ ।
 
यसअघि अख्तियारकै फन्दामा परेका चितवनका डा. भक्तमान श्रेष्ठ भने २७ लाख धरौटी राखेर छुटिसकेका छन् । यी दुवैको मुद्दा वर्ष दिनभित्रमा किनारा लागि फैसला हुने अदालतले जनाएको छ ।