मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मरिसकेका भनेका मान्छे घर फर्केपछि…

मरिसकेका भनेका मान्छे घर फर्केपछि…


जाजरकोट । यहाँको कार्कीगाउँ–२ साल्मका मन्दिर रोकायको परिवारलाई उनी जीवितै छन् होला भन्ने लागेको थिएन । १५ वर्षअघि घरबाट बेपत्ता भएका रोकायको मरेको र जिउँदो केही खबर थिएन । 
 
कतिले मरिसकेको हल्ला गरे, कतिले अर्काे बिहे गरेर कतै बसेको हुनसक्ने आशङ्का गरे, कतिले माओवादीमा लागेको अनुमान पनि गरे । तर उनका विषयमा कतैबाट आधिकारिक खबर भने आएन । १५ वर्षसम्म पनि घर नफर्किएपछि परिवारलाई समेत मन्दिर जीवितै होलान् भन्ने कुरामा शङ्का थियो । 
 
उनको परिवार परम्पराअनुसार काजक्रिया गर्ने तयारीमा थियो । तर यही बेला रोकाय घर फर्किएका छन् । मरिसकेको भनेर हल्ला गरिएका व्यक्ति घर आएपछि रोकायको परिवारमात्र होइन, गाउँलेसमेत अचम्ममा परेका छन् । अहिले रोकायको घरमा उनलाई भेट्नेको भीड लागेको स्थानीय पूर्ण महताराले जानकारी दिए । रोकायलाई गाउँलेले फूलमाला, अबिर लगाएर स्वागत गरेको महताराले बताए । २०५८ साल जेठ २६ गते श्रीमतीसँग सामान्य घरायसी विवाद भएपछि रोकाय घर छोडेर हिडेका थिए । 
 
त्यतिबेला श्रीमती भद्री रोकायले उनी माओवादीमा लागेको अनुमान गरेकी थिइन् । तर माओवादीमा लागेका अन्य छिमेकी बेलाबेला घर आउने जाने गरिरहँदा रोकाय नआएपछि श्रीमती भद्रीको मनमा पनि चिसो पसेको थियो । ‘सोचेँ, पुलिसले मा¥यो होला, अब जीवितै भेट्ने आशा छैन’, उनले भनिन् ।
 
रोकायले घर छोड्दा चार वर्षीय नाबालक छोरा दीपक श्रीमती भद्रीको साथमा थिए । अहिले उनी १९ वर्षका भए र बिहेसमेत गरेका छन् । दुई छोरा र तीन छोरीका बाउ रोकायका सबै सन्तानले बिहे गरिसकेका छन् । उनीहरूबाट पाँच नातीनातिना छन् । ‘बा कस्तो हुनुहुन्थ्यो भन्ने मलाई केही यादै थिएन, जब घर आउनुभयो मैले चिन्दै चिनिन’, छोरा दीपकले भने । 
 
मन्दिरलाई भारतमा भेटेको कमाई गर्न गएका छिमेकीले उनको घरमा खबर पु¥याउने गर्थे । तर उनी नफर्किंदासम्म परिवारलाई विश्वास लागेको थिएन । घर छोडेर आफूले गल्ती गरेको रोकायको भनाइ छ । अब बाँचुन्जेल घरपरिवारसँगै बस्ने उनको चाहना छ । 
 
‘सानो कुराले घर नछोड्नुपर्नेथ्यो, बहुत गल्ती गरियो’, रोकायले भने, ‘जवानी पनि त्यसै खेर गयो, अब मरुन्जेल कतै जान्न ।’ घर छोड्दा रोकायको उमेर ३८ वर्ष थियो । १५ वर्षको अवधिमा भारतका विभिन्न सहरमा मजदुरी गरेको रोकायले बताए ।
 
गढवाल, दिल्ली, चन्डिगढ, किन्नौर, सिम्लालगायतका सहरमा मजदुरी गरेको उनले बताए । ‘कमाउन केही सकिएन, अलिअलि कमाएको पैसा डुल्दैमा सकियो’, रोकाय भन्छन् । श्रीमती भद्रीका अनुसार गाउँमा हुँदा पनि रोकाय जाँड खाने र जुवातास खेल्ने गर्थे । त्यही विषयमा सामान्य ठाकठुक परेपछि रोकायले घर छोडेर हिँडेका थिए । रासस