मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अस्पतालपछि कलेजमा स¥यो आन्दोलन

अस्पतालपछि कलेजमा स¥यो आन्दोलन


चितवन । चितवन मेडिकल कलेजका विद्यार्थीले विरोध प्रदर्शनसहित कलेजविरुद्ध चितवन जिल्ला शिक्षा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । नेत्रविक्रम चन्द नेतृत्वको मजदुर संगठनले मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा गरेको एक महिने आन्दोलनको टुङ्गो लगाए पनि चन्द नेतृत्वकै विद्यार्थी संगठन कलेजविरुद्ध उत्रिएको छ ।  
 
मजदुरहरु संगठनले आन्दोलन गरे पनि मेडिकल कलेज प्रशासनले पार्टीका जिल्ला नेतासँग सहमति गरेको थियो । अस्पतालको आन्दोलन स्थगित भएको हप्ता दिनपछि कलेजमा विद्यार्थीले सुरु गरेको आन्दोलनको नेतृत्व चन्दका छोरा प्रकास स्वयंले गरेका छन् ।
 
नेता चन्दका छोरा प्रकास चितवन मेडिकल कलेजमा चिकित्साशास्त्र पढ्दै छन् । उनीे पार्टी निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को कलेज इकाइको अध्यक्ष हुन् । उनीहरुले निकालेको पर्चामा ‘चितवन मेडिकल कलेज माफिया करण र दलालीको बाटोमा दिन दुई गुणा र रात चार गुणाको हिसाबमा अगाडि बढेको’ भनी उल्लेख छ ।
 
विद्यार्थी आन्दोलनले गर्दा बिरामीलाई समेत असुविधा भएकाले अन्य अस्पतालमा जान क्रान्तिकारीले निकालेको पर्चामा उल्लेख गरिएको छ । क्रान्तिकारी इकाइ समितिको आयोजनामा मंगलबार भरतपुरमा विरोध ¥याली निस्कियो । उनीहरुले शिक्षा कार्यालयमा धर्ना पनि दिए । माओवादी पार्टीको झण्डासहित जुलुसमा सहभागी विद्यार्थीहरुले चितवन मेडिकल कलेजविरुद्ध उग्र नारा लगाएका थिए ।
 
कलेजले विद्यार्थीसँग तोकिएभन्दा बढी शुल्क लिँदै आएको उनीहरुको आरोप छ । कलेजले लिने सबै खालका शुल्कको हिसाब पारदर्शी हुनुपर्ने संगठनको मुख्य माग छ । ‘हामी चितवन मेडिकल कलेजविरुद्ध नभएर चिकित्सा क्षेत्रमा भित्रिएको विकृतिविरुद्ध लडेका हौं । यसमा सबै पक्षले सहयोग गर्नु पर्छ’ अखिल (क्रान्तिकारी) इकाइ अध्यक्ष प्रकास चन्दले भने । 
 
माग पूरा नभएसम्म निरन्तर आन्दोलन गर्ने उनको चेतावनी छ । यसअघि अखिल नेपाल क्रान्तिकारी स्वास्थ्य तथा सरसफाइ श्रमिक संघले अस्पताल सञ्चालक समक्ष माघ २० गते १० बुँदे मागपत्र बुझाएर चैत्र १ गतेदेखि आन्दोलन गर्दै आएको थियो । एक वर्ष काम गरेका सबै मजदुर कर्मचारीलाई स्थायी गरेर नियुक्ति पत्र दिनुपर्ने उनीहरुको मुख्य माग थियो ।
 
अस्पताल इकाइले सुरु गरेको आन्दोलनमा पछिल्लो समय माओवादीको केन्द्रीय मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र अखिल नेपाल क्रान्तिकारी स्वास्थ्य तथा सरसफाइ संघका केन्द्रीय समितिले अस्पतालमा आएर नेतृत्व गरेको थियो । तर अस्पताल प्रशासनले वैशाख १ गते चन्द नेतृत्वको नेकपा माओवादी चितवन जिल्लाका इन्चार्च महेस चौधरीसँग सहमति गरेको थियो ।
 
मजदुरहरुले उठाएको मुख्य माग स्थायी नियुक्ति तत्काल दिन नसकिने र त्रिभुवन विश्व विद्यालयले मेकिडल कलेजलाई स्थायी सम्बन्धन दिएपछि मात्रै प्रक्रिया सुरु गर्ने कलेज प्रशासनको आग्रहमा माओवादी सहमत भएपछि आन्दोलन रोक्ने सहमति भएको थियो । अस्पतालको आन्दोलन रोकिएको हप्ता दिन नहुँदै कलेजमा विद्यार्थीले आन्दोलन सुरु गरेका छन् ।