मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शैक्षिक सत्र सुरु भए पनि पाठ्यपुस्तक अभाव

शैक्षिक सत्र सुरु भए पनि पाठ्यपुस्तक अभाव


गाईघाट । नयाँ शैक्षिक सत्र सुरु भएर विद्यालय सञ्चालन हुन थाले पनि विभिन्न पुस्तक पसलले अहिलेसम्म पनि पाठ्यपुस्तक उपलब्ध गराउन सकेका छैनन् । 
 
शैक्षिक सुरु भएसँगै विद्यालयमा नयाँ भर्ना सुरु हुन थालेपछि अहिले सदरमुकाम गाईघाट तथा कटारी र बेल्टार क्षेत्रका अधिकांश विद्यालयका विद्यार्थी पाठ्यपुस्तक लिनका लागि नजिकैको पुस्तक पसलमा धाउन थाले पनि  पुस्तक पसलमा पर्याप्त पुस्तक प्राप्त गर्न नसकिएका कारण रित्तै फर्कनु परेको गाईघाट–२ का सुजन खड्काले बताए । 
 
गाईघाट बजारमा अहिले आधा दर्जन जति पुस्तक पसल भए तापनि केही पुस्तक पसलले फाटफुट एक दुई पुस्तक बाहेक अन्य पुस्तक उपलब्ध गराउन नसकेको लालीगुराँस मावि गाईघाटका कक्षा ९ की  छात्रा प्रीत कार्कीले बताइन् । उनी भन्छिन् – “विद्यालयमा कक्षा सुरु भइसक्यो, तीन दिनदेखि पुस्तक किन्नका लागि पुस्तक पसल धाउँदै आएकी छु, अहिलेसम्म बल्ल तीन वटा मात्र पुस्तक हात परेको छ, अन्य पुस्तक प्राप्त हुन सकेको छैन ।”
पुस्तक बिक्रेताहरु दुई तीन विषयका पुस्तक बाहेक अधिकांश विषयका पुस्तक अझैसम्म पनि आफूहरुले नै डिलरबाट प्राप्त गर्न नसकेको बताउँछन् । माझखर्क पुस्तक पसलका सञ्चालिका रेणुका राई भन्छिन् – “पुस्तक खरिद गर्न विराटनगर, जनकपुर, काठमाडौँ नै पुगिसकियो, तर डिलरहरुले नै पर्याप्त पुस्तक उपलब्ध नगराउँदा हामीले विद्यार्थीलाई समयमा पाठ्यपुस्तक उपलब्ध गराउन सकेका छैनौँ ।”
 
न्यौपाने पुस्तक पसलका सञ्चालक लक्ष्मण न्यौपाने पूरा पुस्तक प्राप्त गर्न झन्डै वैशाख महिनाभरि कुर्नुपर्ने अवस्था रहेको बताउँछन् ।
 
जिल्लाका सरकारी विद्यालयमध्ये २५ प्रतिशत विद्यालयले पुस्तक प्राप्त गरे पनि बाँकी विद्यालयले अझै पुस्तक पाउन नसकेको जिल्लाका शिक्षक युनियन तथा सङ्घसङ्गठनका प्रतिनिधिको भनाइ  छ । 
 
समयमा पुस्तक प्राप्त गर्न नसकेपछि अधिकांश विद्यार्थी झोलामा कापी र डटपेन मात्र बोकेर विद्यालय जान थालेको अभिभावक बताउँछन् । 
 
यसैबीच, नयाँ शैक्षिक सत्र सुरु भए पनि रुपन्देहीमा पचास हजारभन्दा बढी विद्यार्थीले पुस्तक पाएका छैनन् । 
 
जिल्ला शिक्षा कार्यालयले कोही पनि विद्यार्थी नछुटून् भनेर विद्यार्थी अभियानलाई तीव्रता दिइएको तर भर्ना भएकामध्ये ८० प्रतिशत विद्यार्थी पुस्तकविहीन छन् । रुपन्देहीमा सामुदायिक तीन सय ६२, संस्थागत (निजी) २८, धार्मिक एक सय १७ गरी सात सय ६३ विद्यालय छन् ।
 
 शिक्षा कार्यालयका अनुसार कक्षा १० सम्म दुई लाख आठ हजार विद्यार्थी छन् । तीमध्ये सामुदायिक विद्यालयमा एक लाख २५ हजार, निजी विद्यालयमा ७१ हजार पाँच सय र अन्यमा १० हजार ६०० विद्यार्थी विद्यार्थी छन् । निजी विद्यालयले पु्स्तकको चाँजोपाँचो मिलाइसकेका छन् ।  सामुदायिक विद्यालयमा भने कक्षा ६ देखि १० सम्म पुस्तकको चरम अभाव देखिएको छ ।
 
जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले जनक शिक्षा सामग्री केन्द्रले नै पुस्तक नपठाउँदा समस्या भएकाले जति सक्दो चाँडो सहज बनाउने गरी दबाब दिइएको बताउनुभयो ।
 
उहाँका अनुसार रुपन्देहीमा ६६ हजार ५८७ थान पुस्तकको माग भए पनि  ११ हजार ५०० मात्रै  प्राप्त भएको छ । कक्षा ६ मा १२ हजार आठ सय १३, कक्षा ७ मा १२ हजार सात सय ९१, कक्षा ८ मा १३ हजार सात सय, कक्षा ९ मा १३ हजार आठ सय ३० र कक्षा १० मा  १३ हजार चार सय २५ थान पुस्तकको माग छ । 
 
कक्षा ६ को एउटा पनि पुस्तक आएको छैन भने कक्षा ७ देखि १० सम्ममा करिब १५ हजारको हाराहारीमा मात्रै पुस्तक आएको शिक्षा अधिकारी थापाले बताउनुभयो  । तथ्याङ्कानुसार रुपन्देहीमा पुस्तकको अभाव निकै छ ।
 
बुटवल पश्चिममा कक्षा १ देखि १० सम्मको सरकारी पुस्तक वितरणको जिम्मा लिएको सुपर एजुकेसन इन्टरप्राइजेजका सञ्चालक खिमनारायण पराजुलीले पुस्तक अभाव चरम रहेको बताउनुभयो । पश्चिम क्षेत्रमा सबैभन्दा बढी पुस्तकको माग रुपन्देही जिल्लामा रहेको छ ।
 
अन्य जिल्लामा त झन समस्या विकराल रहेको भन्दै रुपन्देहीमा पनि पुस्तक सहज वैशाखसम्ममा कुनै पनि हालतमा नहुने पुस्तक व्यवसायी सङ्घ रुपन्देहीमा पूर्व अध्यक्ष दिवाकर घिमिरेले जिकिर गर्नुहुन्छ । रासस