मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रत्ननगर नगरपालिकाभित्र २१९ बालबालिका श्रममुक्त

रत्ननगर नगरपालिकाभित्र २१९ बालबालिका श्रममुक्त


चितवन । पूर्वी चितवनको निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था रत्ननगर उद्योग वाणिज्य संघले बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत दुई सयजना बालश्रमिकलाई श्रमबाट मुक्त गरेको छ । संघले कार्यक्रम सञ्चालन गरेको दुई वर्षमा २१९ जनालाई श्रमबाट मुक्त गराउन सफल भएको हो । 
संघले ९२ जना बालबालिकाहरुलाई श्रमबाट छुटाएर विद्यालयमा भर्ना, ६२ जना श्रमिक बालबालिकालाई परिवारमा पुनर्मिलन र ६५ जनालाई सीप तथा व्यावसायिक तालिम दिएर रोजगारी प्रदान गरेको छ । 
संघले बालबालिकालाई शिक्षा, रोजगार र अभिभावकलाई सीपमुलक तालिम दिएर आयआर्जनमा लगाएको छ । अभिभावकहरुलाई आयआर्जनमार्फत् जीविकोपार्जनको आधार तयार गरी उनीहरुका छोराछोरीलाई श्रममा पठाउनुपर्ने बाध्यता हटाउन श्रमिक बालबालिकाका अभिभावकहरुलाई सीपमुलक तालिम आयआर्जनमा लगाइएको संघका अध्यक्ष ज्ञानबहादुर बिसुरालले बताए । 
संघले पारिवारिक समस्याका कारण विद्यालय छाडेर श्रममा लागेका ८० जना बालबालिका तथा उनका परिवारलाई शैक्षिक तथा व्यावसायिक परामर्श प्रदान गरेको छ । श्रमबाट छुटाएर संघले ९२ जना बालबालिकाहरुलाई विद्यालयमा भर्ना गरी शैक्षिक सामग्री सहयोग गरेको संघका अध्यक्ष विसुरालले बताए । 
संघले आयआर्जनका लागि २१ जना श्रमिक बालिकालाई ६ महिने सिलाईकटाई तालिम, १ जना श्रमिक बालक र ३ जना श्रमिक बालिकालाई कम्प्युटर तालिम र प्रदान, २ जना बालिकासहित ४० जना श्रमिक बालबालिकालाई आधारभूत कुकिङ तथा वेकिङ तालिम प्रदान गरिएको बालश्रम न्यूनीकरण कार्यक्रमका संयोजक दीपक कर्माचार्यले जानकारी दिए । 
श्रमिक बालबालिकाका अभिभावकको आयआर्जनको लागि संघले ३५ जनालाई बाख्रा, १० जनाई रिक्सा, ३ जनालाई ठेला, ५ जनालाई पाडी, २ जनालाई सिलाई मेसिन, ४ जनालाई किराना सामग्री र एक एक जनालाई बगुंर, कुखुरा र माछापालनको निम्ति सहयोग गरेको संयोजक कर्माचार्यले बताए । 
संघले सामाजिक उत्तरदायित्व बहन गर्दै अभिभावकविहीन ३ जना बालकलाई चैनपुरस्थित नवोदय माविमा निःशुल्क छात्राबाससहित विद्यालय भर्ना गरेको छ । एक बालिकालाई रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा सबै खर्च व्यहोर्ने गरी राखेको छ । 
रत्ननगर नगरपालिकामा सञ्चालित बालमैत्री स्थानीय शासन कार्यक्रमअन्तर्गत संघले बालश्रम न्यूनीकरणको लागि काम गरिरहेको छ । युनिसेफ नेपालको सहयोगमा यो कार्यक्रम रत्ननगरमा सञ्चालित छ । 
रत्ननगरलाई सन् २०१७ सम्म बालश्रममुक्त नगर बनाउने र २०१९ सम्म बालमैत्री नगर वनाउने योजना नगरपालिकाको रहेको छ । बालश्रम न्यूनीकरणको कामलाई अभियानकै रुपमा सञ्चालन गरेर लक्ष्य भेट्टाउन नगरपालिका लागिपरेको छ । उवासंघले श्रमिक बालबालिकाको पहिचान गरी उनीहरुलाई श्रमबाट छुटाएर शिक्षा, परिवारमा पुनर्मिलन, रोजगार र अभिभावकलाई आयआर्जनको लागि काम गरिरहेको छ । 
यता नगरपालिकाले सेवा प्रदायक संस्थाको कामलाई आर्थिक तथा प्राविधिक सहयोगसँगै टोल, वडा र नगरलाई नै बालश्रममुक्त बनाउन आवश्यक पर्ने काम गरिरहेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख तेजेन्द्रनाथ लामिछानेले बताए ।