मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

डढेलोबाट सत्तरी बढी सामुदायिक वनमा असर

डढेलोबाट सत्तरी बढी सामुदायिक वनमा असर


पाल्पा, ४ वैशाख । दैनिकजसो वनमा डढेलो बढ्न थालेपछि मानवीय तथा भौतिक क्षति बढ्न थालेको छ । चैत महिनामा मात्र आगलागीबाट दुई जनाले ज्यान गुमाउनु परेको छ ।
 
त्यस्तै एउटा जर्सी गाई, ११ गोठ र एउटा घर जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ज्यान जानेमा चापपानी गाविस–५ बस्ने ५३ वर्षीया भगवती तिमिल्सेना र फेक गाविस–५२ वर्षीय बलबहादुर रायमाझी छन् । यी दुवै जनाको बारीमा काँडा जलाउने क्रममा आगाले जलेपछि तानसेनस्थित मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
 
डढेलो जिल्लाका ७१ सामुदायिक वन क्षेत्रका ससाना वन्यजन्तु र बोटबिरुवा जलेर नष्ट भएका छन् भने केही वन्यजन्तु विस्थापित भएका छन् । भैरवस्थान गाविस–३ का प्रेमबहादुर थापाले खाएको चुरोट ठुटाबाट फैलिएको डढेलोबाट वन र उनकै घरगोठ नष्ट भएको छ । उनलाई नियन्त्रणमा लिएर वन ऐन २०४९ को दफा ४९ को ख बमोजिम एक वर्ष कदै वा रु १० हजार जरिवाना वा दुवै सजाय हुन सक्ने वन अधिकृत यमलाल पोखरेलले बताउनुभयो । 
 
खडेरी बढेर सुक्खा जमिनमा आगो सानो झिल्काले पातपतिङ्गर भेटेपछि आगो फैलिँदा जिल्लाका अधिकांश सामुदायिक वनमा डढेलो लागेको हो । जिल्ला वन कार्यालयका अनुसार वैशाखको पहिलो हप्तासम्म तीन हजार २३८ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनको डढेलो फैलिँदा यसबाट ठूलो असर परेको हुनसक्ने जानकार बताउँछन् । 
 
डढेलो नियन्त्रणमा आए पनि अर्को स्थानमा फैलिने गर्दा नियन्त्रणमा समस्या पैदा भएको हो । मानवीय क्रियाकलापका कारण डढेलो दैनिक रुपमा बढेको छ । यसले ससाना वन्यजन्तु र बहुमूल्य जडीबुटी नष्ट हँुदा वातावरणीय असन्तुलन बढेको छ । डढेलोे फैलिएपछि श्वासप्रश्वासमा समेत समस्या हुने चिकित्सकको भनाइ छ । 
 
तानसेन–१३ स्थित लिपिन्देवी सामुदायिक वन, वनदेवी सामुदायिक वन, बन्दीपोखरा गाविसस्थित बाझा सामुदायिक वन, तिनलाकुरी बाक्लो काफल, नाक्थुङ सामुदायिक वन, भरलेगैरा गैरा सामुदायिक वन, भैरवस्थानस्थित पोखलडाँडा सामुदायिक वन र महजीर सल्लेरी वनमा डढेलो फैलिएकामा स्थानीयवासी, प्रहरी र सेनाको सहयोगमा आगो नियन्त्रण लिइए पनि पर्यावरणीय हिसाबले ठूलो असर गरेको छ । वनमा रहेका सर्प, खरायो, स्याल, मुसा तथा चरा जलेर नष्ट भएका छन् ।
 
तानसेन इलाका वन कार्यालय अन्तर्गत तीन हजार २१६ हेक्टर क्षेत्रफल सामुदायिक वनले ओगटेकामा १५० हेक्टरमा डढेलो लागेको छ । तानसेन इलाका अन्तर्गतका सामुदायिक वनमा डढेलो बढी लागेको छ ।
 
अधिकृत पोखरेलका अनुसार ससाना किरा, फट्याङ्ग्रा र गुँडमा रहेका चराचुरुङ्गी जलेर नष्ट हुँदा पर्यावरणीय रुपमा डढेलोको असर ठूलो हुन जान्छ । 
 
डढेलोले साना बिरुवा हुर्कन दिँदैन । जीवजन्तु तथा चरा बासस्थान नै गुम्न थालेपछि विस्थापित हुनुपर्ने समस्या भोग्न बाध्य हुन्छन् । डढेलोले वनक्षेत्र उजाड बन्ने खतरा समेत बढेको छ । 
 
फोक्सिङकोट गाविसको रानीवास सामुदायिक वन, दोभान गाविस, भुवनपोखरी, रुप्से गाविस लगायतमा समेत डढेलो बढेको छ । डढेलोका कारण वनजङ्गलमा गाईभैँसी चरिचरन क्षेत्र जल्दा पशुपक्षीलाई आहाराको व्यवस्था गर्न समस्या भएको स्थानीयवासीको भनाइ छ । 
 
यसैगरी ताहु गाविस–२ स्थित मत्याहा सामुदायिक वनमा डढेलो फैलिँदा स्थानीयवासीका तीन घरगोठ समेत जलेका हुन् । रातामाटा, खुलखुल सामुदायिक वनमा फैलिएको आगो प्रहरी, सेना र स्थानीय युवाको अगुवाइमा नियन्त्रणमा लिन सफल भएको वन अधिकृत झमनारायण सापकोटाको भनाइ छ ।
 
सामुदायिक वनमा फैलिएको डढेलो नियन्त्रण भए पनि पर्यावरणीय रुपमा वातावरणलाई ठूलो असर परेको हुन्छ । ५०÷६० हेक्टर वन क्षेत्र डढेलोको असर परेको अधिकृत ज्योति कोइरालाको भनाइ छ । 
 
जिल्ला वन कार्यालयका प्रमुख ददीराम कडेलका अनुसार जिल्लामा डढेलो बढेपछि स्थानीय सञ्चारमाध्यबाट डढेलो नियन्त्रणसम्बन्धी प्रचारप्रसार कार्यक्रमलाई अभियानका साथ अघि बढाइएको र डढेलो नियन्त्रणका लागि गोष्ठी सञ्चालन गरिएको छ । त्यस्तै समुदाय, प्रहरी र सेनाद्वारा डढेलो नियन्त्रण गरिँदै आएको छ । रासस