मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पूर्वसभासद् शान्ता चौधरी आठ कक्षा पास

पूर्वसभासद् शान्ता चौधरी आठ कक्षा पास


काठमाडौं । एमालेकी पूर्वसभासद शान्ता चौधरी कक्षा आठको जिल्लास्तरीय परीक्षामा उत्तीर्ण भएकी छन् । दाङको उच्च मावि डाँडागाउँमा अध्ययनरत उनी पहिलो श्रेणीमा पास भएकी हुन् ।
 
फेसबुकमा खुशी साट्दै उनले लेखेकी छिन्, ‘धेरैलाई हाँसो लाग्दो हो, तर यो मलाई जीवनकै सर्वोच्च उपलब्धि लागेको छ ।’
 
सभासद बन्दा आफ्नो अशिक्षाका कारण धेरै दुख झेल्नुपरेको महसुस गरेपछि शान्ता गाउँको विद्यालयमा भर्ना भएकी थिइन् । यद्यपि राजनीतिक र समाजिक कामको व्यस्तताले गर्दा नियमित विद्यालय जान नसकेको उनी बताउँछिन् ।
 
‘घर-व्यवहार र राजनीतिले गर्दा पर्याप्त पढ्न पाएकी थिइनँ,’ उनले लेखेकी छिन्, ‘फेल हुन्छु भन्ने लागेको थियो, तर पास भइछु । पासमात्रै होइन, फस्ट डिभिजन आइछु ।’
 
आफू पास हुँदा छोराछोरीमा खुशीको सीमा नरहेको पनि उनले उल्लेख गरेकी छिन् । उनका छोरा कक्षा ९ र छोरी कक्षा सातमा काठमाडौंमा पढ्दैछन् । शान्ताले आफू जिल्लास्तरीय परिक्षामा पास हुनुलाई मन्त्री हुनुभन्दा ठूलो उपलब्धि बताएकी छिन् । 
 
उनी लेख्छिन्, ‘मानिसहरु मन्त्री बन्नु ठूलो सफलता र खुशीको कुरा हो भन्छन्, तर आठ कक्षा पास गर्नु मेरालागि मन्त्री बन्नुभन्दा ठूलो सफलता हो ।’ मिडियाले लगातार पछयाएकाले पनि आफू ध्यान दिएर पढ्न वाध्य भएको उनको भनाई छ ।
 
लामो समय क्यान्सरसँग संघर्ष गरेकी शान्ता अहिले स्वस्थ बनेकी छिन् । क्यान्सर उपचारका लागि सरकारले दिएको सहयोग रकमबाट बचेको पैसा फिर्ता गरेर उनी चर्चामा आएकी थिइन् । # Agency