मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकार आफैँ ढल्छ : डा कोइराला

सरकार आफैँ ढल्छ : डा कोइराला


हिमालय खबर संबाददाता-
चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकार आफैँ ढल्ने ठोकुवा गरेका छन् । कांग्रेस सरकार ढाल्ने पक्षमा नरहेको बताउँदै यो सरकार आफैँ ढल्ने उनले दाबी गरे । 
 
कांग्रेस चितवन क्षेत्र नं ४ द्वारा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेसलाई सरकारमा जान हतार नभएको स्पष्ट पारे । सत्ता साझेदार मुख्य दलबीच नै मतभिन्नता देखिएकोले वर्तमान सरकार टिक्न नसक्ने दाबीसमेत गरे । 
 
‘सरकार गठबन्धनका दलबीच फाटो आएको छ’ उनले भने, ‘यो सरकार हामीले ढाल्नै पर्दैन, आफैँ ढल्छ ।’ उनले गम्भीर परिस्थितिमा निकास दिन नसकेको सरकार गैरजिम्मेवार भएको आरोप लगाए । कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै संगठनको विकासमा लाग्ने बताए । 
 
‘सरकारमा जान हामीलाई हतार छैन,’ उनले भने, ‘अहिले संगठन बनाउने प्राथमिकता हो, मधेसको समस्या समाधान नगरी सरकारमा जानुको औचित्य छैन ।’  उनले हिन्दु राष्ट्र राख्दा नराम्रो नहुने तर्क गर्दै यसले गणतन्त्रमा असर पर्छ कि भन्ने डर भएको बताए । तर देशमा भएका ८५ प्रतिशत हिन्दुवादीको सम्मान हुनुपर्ने धारणा उनको थियो । उनले अब महासमितिको बैठक बसेर विधान संशोधन गरी प्रादेशिक संरचनामा लानुपर्नेमा जोड दिएका छन् ।
 
कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले पार्टीमा परिर्वतनको आवश्यकता भएको बताए । जिल्ला समिति योजनासहित अघि बढ्न लागेको जनाउँदै एकताको लागि अभियान थाल्ने बताए ।
 
कार्यक्रममा उल्लेख्य राजनैतिक योगदान तथा समाजसेवाका लागि कांग्रेस नेतृ पूर्वसांसद मैयादेवी श्रेष्ठलाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा डा. कोइरालाले क्षेत्रीय समितिले प्रकाशित गरेको वार्षिक क्यालेण्डरको पनि विमोचन गरेका थिए । कार्यक्रममा एमाले र एनेकपा माओवादी पार्टी परित्याग गरी १८ जना कांग्रेसमा प्रवेश गरेका थिए । 
 
क्षेत्रीय सभापति सरिता केसीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वसांसद मैयादेवी श्रेष्ठ, पूर्व जिल्ला सभापतिहरु कृष्णलाल सापकोटा, तोपमानसिं गुरुङ, टीकाराम न्यौपाने, सांसदहरु शेषनाथ अधिकारी, रामकृष्ण घिमिरे, अञ्जनी श्रेष्ठ, विष्णुमाया परियार, नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशी, कोषाध्यक्ष शंकर कंडेल, भरतपुर नगरसभापति भरत अधिकारीलगायतले बोलेका थिए ।