मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

महानायक हमाल सहितका कलाकार टोली टेक्ससमा (भिडियो सहित)

महानायक हमाल सहितका कलाकार टोली टेक्ससमा (भिडियो सहित)


हिमालय खबर संबाददाता –
ड्यालस (अमेरिका)। महानायक राजेश हमाल, नायिका केकी अधिकारी र गायक  राजेश पायल राई  लगायतको नेपाली कलाकारहरुको टोली बुधबार अमेरिका आइपुगेको छ । ड्यालसको फोर्टवर्थ अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली समाजका अध्यक्ष कृष्ण लामिछाने, जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य हरिबोल भण्डारी लगायत समाजका पदाधिकारीहरुले कलाकारहरुको भव्य स्वागत गरेका थिए। 
 
नेपालमा गत वर्ष गएको भुकम्प पछि ध्वँस्त भएका विद्यालय भवनहरुको निर्माणार्थ ‘घाँसी नेपाल’ को प्रवद्र्धनमा हुन लागेको एक महिने कार्यक्रमका लागि कलाकारहरु अमेरिका आइपुगेका हुन् । ‘म अनि मेरो जन्मभूमि’ नाम दिइएको अभियान अन्तरगत शुक्रबार ह्युस्टनबाट कार्यक्रम सुरु हुँदैछ । आइतबार ड्यालसमा कार्यक्रम हुने नेपाली समाजका महासचिव कमल सत्यालले हिमालय खबर संगको कुराकानीमा बताउनु भयो । 
 
महानायक हमाल, नायिका अधिकारी सहित गायक राजेशपायल राई, हाँस्यकलाकार सन्दीप कायस्थ क्षेत्री लगायतको टीम अमेरिका आइपुगेको हो । एक महिने अभियान अन्तरगत बाल्टिमोर र भर्जिनियामा पनि यो कार्यक्रम हुने जनाइएको छ । 
 
यसैबीच बुधबारनै कलाकारहरुको टोलीलाई ‘नेपाल जर्नी युएसए’ ले घाँसी नेपाललाई पाँचसय एक डलरको चेक प्रदान गरेको छ । महानायक हमाललाई नेपाल जर्नीकी मौसमी श्रेष्ठले हस्तान्तरण गर्नुभएको थियो ।
‘नेपाल जर्नी युएसए’ ले घाँसी नेपाललाई पाँचसय एक डलरको चेक प्रदान-भिडियो सहित 
 
कार्यक्रममा हमालले शिक्षानै भविष्य निर्माणको आधार भएकोले ध्वँस्त विद्यालय पुननिर्माणका लागि आफू  सकृय भएको बताउनुभयो । उहाँले विगतका आफ्नो अमेरिकामा हुने कार्यक्रमभन्दा यस पटक पृथक रहेको र संकलित सबै रकमबाट आफूले एक पैसा पनि नलिई नेपालका विद्यालय भवन निर्माणमा खर्चिने जानकारी दिनुभएको थियो ।
 
नायिका केकी अधिकारीले भुकम्प पीडित क्षेत्र घुम्दा धेरै स्कुल भवन नदेखेपछि आफू  यो अभियानमा सकृय भएको बताउनुभयो । हाँस्य कलाकार नारायण त्रिपाठी ‘प्रेमचरो’ ले आफूले पनि भुकम्पपछि नेपालमा निकैनै सहयोग गर्दै आएको उल्लेख गर्दै यस्तो अभियानमा आफू  पनि सकृय हुने बताउनुभयो । घाँसी नेपालका अध्यक्ष माधव  घिमिरेले भानुभक्तको घाँसीकै प्रेरणाबाटै यस्तो कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो । 
 
नेपाली समाजका अध्यक्ष कृष्ण लामिछानेले भुकम्प गएपछि राहतका लागि साँढे दुईलाख डलर संकलन गरेर सहयोग गरेको स्मरण गर्नुहुँदै मातृभूमिलाई आवश्यक पर्दा जे जति सहयोग गर्नुपर्छ प्रवासमा रहेका नेपालीहरु तत्पर रहेको प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । 
 
‘नेपाल अमेरिका जर्नी’ले गत वर्षको भुकम्प पीडित बालबालिकाहरुलाई नेपालमा बिभिन्न सहयोग गर्नुका साथै मकवानपुर, काठमाडौँ लगाएत  चितवनका बिभिन्न संघसंस्थाहरुलाई पुस्तकालय, शिक्षाको लागि ठूलो सहयोग गर्दै आएको छ ।
 
घाँसी नेपालले भुकम्पबाट ध्वँस्त विद्यालयहरु तीनसय कोठा  पुननिर्माणमा सहयोग गर्ने योजना बनाएको छ । घाँसी नेपालको संयाेजनमा गत महिना गाेरखाको गाेहाेरे गाविसमा निर्माण हुन लागेकाे स्कूल भवनकाे महानायक हमालले शिलान्यास गर्नुभएको थियो ।

के भन्छन् त ? महानायक राजेश हमाल टेक्सस वासी नेपालीहरुलाई (भिडियो सहित)