नवलपरासी । बेपत्ता छानबिन आयोगले आजदेखि द्वन्द्वकालमा बेपत्ता भएकाहरुको लगत संकलन सुरू गरेको छ ।
द्वन्द्वकालमा बेपत्ता भएका, मृत्यु भएकाहरुको लगत जिल्लास्थित शान्ति समितिको कार्यालयले संकलन गरिरहेको प्रमुख जिल्ला अधिकारी महादव पन्थीले बताए । तत्कालीन माओवादी विद्रोहमा नवलपरासीमा १७५ जनाले ज्यान गुमाएका छन् । तीन दर्जनको हाराहारीमा बेपत्ता भएका छन् । तीन अर्बभन्दा बढीको भौतिक सम्पत्तिको क्षति भएको जनाइएको छ ।
देशमा शान्ति स्थापना भइसकेको करिब दश वर्ष पुग्न लाग्दा पनि तत्कालीन सशस्त्र द्वन्द्वमा माओवादी र राज्य पक्षबाट पीडितहरुले अहिलेसम्म पनि न्याय पाउन नसकेको र सरकारले बेपत्ता छानबिन आयोग बनाएर ढिलै भए पनि न्याय पाउने कुरामा यहाँका द्वन्द्वपीडितहरुले खुसी व्यक्त गरेका छन् ।
उनीहरुले सरकारले वास्तविक पीडितहरुको वास्तविक तथ्यांक पत्ता लगाउन नसक्दा अझै द्वन्द्वको चपेटामा नै बाँच्न बाध्य भएका छन् । आयोगले काम सुरू गरेपछि निवेदन दिन थालेको पीडितहरुले बताए ।
शान्ति समितिले लगत संकलन आगामी असारसम्म रहने र यस कार्यले सरकारले वास्तविक द्वन्द्वपीडितहरुलाई पहिचान गर्न सक्ने र वास्तविक पीडितले न्याय पाउने विश्वास गरिएको छ ।
शान्तिका लागि संवाद कार्यक्रमका संयोजक पुष्पराज आचार्यले वास्तविक द्वन्द्वपीडितलाई पहिचान गरेर राज्यले विषेश कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया