मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पाथीभरामा दर्शनार्थीको चाप, प्रबन्ध मिलाउन समस्या

पाथीभरामा दर्शनार्थीको चाप, प्रबन्ध मिलाउन समस्या


ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा आउने दर्शनार्थीको चाप बढ्दै गएपछि मन्दिरमा पूजाआजा गर्न र खान, बस्नको व्यवस्थापन गर्न समस्या भएको छ ।
 
दर्शनार्थीको चाप बढेपछि मन्दिरमा पूजा गर्ने व्यवस्थापन मिलाउन कठिनाइ भएको साथै सो क्षेत्रका होटलमा तीर्थालुको व्यवस्थापन गर्न समस्या भएको छ । हाल दैनिक स्वदेशी तथा विदेशी गरी सयौँको सङ्ख्यामा पुग्ने दर्शनार्थीलाई मन्दिरमा पूजा गर्न कठिन हुने गरेको पाथीभरा मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिका उपाध्यक्ष रणबहादुर कार्कीले बताउनुभयो ।
 
उहाँका अनुसार व्यवस्थापनका लागि केही दिनका लागि समितिबाट छ जना कर्मचारी खटाइएको भएपनि समय समयमा कठिनाइ हुने गरेको छ । शनिबार र मङ्गलबार दैनिक एक हजार ५०० को हाराहारीमा दर्शनार्थी पुग्ने गरेकाले ती दिनमा पूजा गर्न सहजताका लागि व्यवस्थापनमा समस्या हुने गरेको छ । 
 
यता मन्दिर क्षेत्रमा रहेका होटललाई पनि दर्शनार्थीको चाप बढेपछि खान बस्नको प्रबन्ध मिलाउन निकै कठिन भएको छ त्यस क्षेत्रमा रहेका दुई दर्जनभन्दा बढी होटलमा करिब ३०० देखि ४०० सम्मका लागि मुस्किलले व्यवस्थापन गर्न सकिए पनि दैनिक सोभन्दा बढी सङ्ख्यामा दर्शनार्थी पुगेपछि निकै समस्या भएको हो । 
 
दर्शनार्थी सिधै पाथीभरा मन्दिरमा जाने भएकाले एकै पटक ठूलो सङ्ख्यालाई व्यवस्थापन गर्न कठिन हुने गरेको हो । सदरमुकाम फुङ्लिङ, नजिकैका सुकेटार र देउराली क्षेत्रमा होटल भए पनि बेलुका दर्शनार्थी फेदीमा पुग्ने गरेका छन् र पूजा गरेर फर्कँदा पनि सो क्षेत्रमै बास बस्ने गरेका छन् । यसले गर्दा पनि समस्या भएको हो । 
 
अर्कातिर त्यस क्षेत्रमा सवारी साधन पार्किङका लागि पनि समस्या झेल्नु परेको तीर्थयात्रीको गुनासो छ । काफ्लेपाटीसम्म गाडी जाने गरेको छ । सो क्षेत्रमा दुई दर्जनसम्म साना गाडीलाई मात्रै पार्किङ गराउन सकिन्छ । 
 
तर दैनिक सोभन्दा बढी गाडीहरु पुग्ने गरेका छन् । यसैगरी, मन्दिरमा र सो क्षेत्रका विभिन्न ठाँउमा पानीको अभाव सिर्जना हुने गरेको छ भने पर्याप्त चर्पी नहुँदासमेत तीर्थालुले सास्ती खेप्दै आएका छन् ।
 
यसरी, बर्सेनि पूजापाठ गर्ने तथा दर्शन गर्ने याममा समस्या आउने गरेको भएपनि ती क्षेत्रमा दर्शनार्थीको व्यवस्थापनका लागि सरोकारवाला पक्षबाट उल्लेखनीय कुनै गतिविधि नभएको धेरैको गुनासो छ । वार्षिक लाखौँको सङ्ख्यामा दर्शनार्थी पुग्छन् अनि करौडौँ रुपैयाँ भेटी सङ्कलन हुन्छ । तर त्यस क्षेत्रमा तीर्थालुको व्यवस्थापनमा खासै ध्यान नगएको पाइएको छ । 
 
यसैबीच, गत मङ्सिरदेखि विभिन्न विवादकाबीच बैंकमा जम्मा हुन नसकेको मन्दिरबाट सङ्कलित भेटीको रकम आइतबार बैंकमा जम्मा गर्ने तयारी गरिएको छ । पाथीभरा मन्दिर क्षेत्रमा काम गर्ने स्थानीयस्तरको समिति र अर्को सरकारमार्फतको समितिका पदाधिकारी सम्मिलित भेटी व्यवस्थापनका लागि बनेको समितिले उक्त रकम जम्मा गर्ने बताइएको छ । मन्दिरमा भेटीका रुपमा चढाइएको रकम बैंकमा जम्मा नहुँदा सड्ने अवस्थामा पुगेको भन्ने समाचार हालै राससबाट सार्वजानिक भएपछि मात्रै भेटी बैंकमा जम्मा गर्ने तयारी थालिएको हो । रासस