रुकुम । शुक्रबार बिहान ३ बजेतिर चौखावाङग–५ का नेपबहादुर ओलीले स्यालापाखामा रहेका आफ्ना सम्धी कृष्णबहादुर नाथलाई फोन गरे । उनले अत्यन्तै सानो स्वरमा भने ‘सम्धी म अस्पतालमा छु, मेरो मुटु दुःखिरहेको छ, भाई डाक्टर खोज्न गएको छ, सायद म मर्छु होला । तपाइँ मलाई भेट्न अस्पताल सल्ले आउनुस् ।”
यतिमात्र भनेपछि स्यालापाखाबाट कृष्णबहादुर सम्धी भेट्न अस्पताल पुगे तर उनले सम्धीको शव मात्र भेटे । यतिबेला मृतकका आफन्तले चिकित्सकको लापरबाहीले गर्दा बिरामीको ज्यान गएको बताएका छन् ।
सम्धीलाई भेट्न आएका कृष्णबहादुरले सम्धीको मृत्यु भइहाल्ला भन्ने कल्पना समेत गरेका थिएनन् । उनले भने, “सम्धीलाई अलि गाह्रो भएको होला, सल्लेमा सन्चो नभएपछि नेपालगन्जसम्म लैजानुपर्ला भनेर म हतारहतार आएँ तर सम्धीको मृत्यु भइसकेछ ।”
नेपबहादुर बिरामी भएपछि भाई जयबहादुरलगायत आफन्तले बिहीबार साँझ जिल्ला अस्पताल पु¥याए । नेपबहादुरलाई जिल्ला अस्पतालको वेड नं ६ मा राखियो । डाक्टर विकासजङ्ग क्षेत्रीले उनलाई चेकजाँच गरे । सामान्य ग्यास्ट्रिकको लक्षण देखा परेकाले त्यही अनुसारको औषधि चलाए । ड्युटीमा रहेका नर्सहरु माधवी कठायत र तुलसा ओलीको निगरानीमा राखेर डाक्टर विकास आफ्नो निवासतिर लागे । तर रात्रि ड्युटीमा रहेका दुवै नर्सहरु सुत्केरी कक्षमा आकस्मिक काम गर्नुपर्ने भएकाले उनीहरु त्यतातिर लागे ।
एक जना गर्भवती बिरामीको पेटभित्रै बच्चाले दिसा खाएको समस्याले गर्दा आमा र बच्चा दुवैलाई बचाउनका लागि उनीहरु त्यता लागेको बताइयो । अस्पतालका एक कर्मचारीका अनुसार नेपबहादुरको अवस्था सामान्य भएकाले उनलाई छाडेर दुवै नर्स सुत्केरी कक्षमा अर्को बिरामीलाई बचाउन गएका थिए । ती आमा र बच्चा भने बाँच्न सफल भएका छन् ।
नेपबहादुरलाई लक्षण सामान्य देखिएकाले त्यही खालको औषधि चलाएको जिल्ला अस्पताल रुकुमका प्रमुख डाक्टर क्षितिज सापकोटाको भनाइ छ । तर बिहान ६ः१५ बजे जाँदा ग्यास्टिक भएको भनिएका ५९ वर्षका नेपबहादुर ओलीको मृत्यु भएको खबर आफन्तले पाए ।
सामान्य भनिएको बिरामीको अकस्मात भएको मृत्युले मृतकका आफन्त, जिल्ला अस्पतालमा रहेका अन्य बिरामी, अस्पताल परिसरमा रहेका अन्य सर्वसाधारण र स्वयं स्वास्थ्यकर्मीसमेत चकित परे । डाक्टर सापकोटाले नेपबहादुरमा जटिल खालको कुनै समस्या नदेखिएको बताए । सामान्य लक्षण देखिएकाले सामान्य औषधि चलाएको उनको भनाइ छ ।
डा सापकोटा भन्छन् ‘केही पनि लक्षण नदेखिएको बिरामीको कसरी मृत्यु भयो म पनि अचम्भित छु । यो अकस्मात मुटु चल्न छोड्ने खालको समस्या हुन सक्छ ।’ उनले बिजुली नभएको बेला पनि जेनेरेटर चलाएर काम गरेको बताए ।
मृतकका आफन्त भने चिकित्सकको लापरबाहीले नै बिरामीको ज्यान गएको बताउँछन् । मृतक ओलीका भाई जयबहादुरले डाक्टरले पुरै वेवास्ता गरेको बताउनुभयो । डाक्टर खोज्न आफू राति २ बजेदेखि डाक्टरको निवासमा गएको तर उनीहरुले नसुनेको दुखेसो गर्नुभयो । उहाँले भन्नुभयो, “यहाँ उपचार नहुने भए हुँदैन भनिदिएको भए अन्य ठाँउमा लैजाने थियौँ ।”
राति बिरामीलाई आपत पर्दा डाक्टरहरु विभिन्न पार्टीमा भोजभतेरमा रहेको पीडितहरुले बताएका छन् । नाम नबताउने सर्तमा जिल्ला स्वास्थ्य कार्यालयकै एक कर्मचारीका अनुसार एफएओ भन्ने संस्थाले बिहिबार साँझ एक भोजको आयोजना गरेको थियो । सो भोजमा डाक्टरहरु सहभागी भएका थिए । उनीहरुले बिरामीतिर भन्दा पनि भोजतिर बढी ध्यान दिए ।
सल्लेको एक मदिरा पसलबाट एफएओका अनुप थोकरले दुई कार्टन बियर अस्पताल परिसरमा लिएर आएको समेत उनले बताए । बिरामीहरु अस्पतालको शय्यामा छटपटाइरहेको अवस्थामा डाक्टरले एक एनजिओको वियरमा रमाएको भन्दै यतिबेला अस्पतालका बिरामीहरु र मृतकका आफन्तहरुले पनि निकै गुनासो पोखेका छन् । डाक्टरलाई भोज ख्वाएर भुलाएको भन्दै एफएओको समेत आलोचना भइरहेको छ । स्वास्थ्य दिवसको दिनमा सो संस्थाले रुकुम अस्पतालका डाक्टरहरुलाई बियर र रक्सीमा भुलाएको एक स्थानीयले बताए ।
सोही घटनाको विषयमा जिल्ला प्रशासन कार्यालयमा पीडित पक्ष र जिल्ला अस्पतालबीच छलफल भएको छ । सो बैठकमा अस्पतालको व्यवस्थापकीय पक्षलाई सुधार गर्ने र नेपबहादुर ओलीको मृत्युको विषयमा छानबिन गरी सत्यतथ्य प्रतिवेदन ल्याउन सहायक प्रजिअ शेरबहादुर पुनको संयोजकत्वमा छानबिन समिति समेत गठन गरिएको छ ।
प्रजिअ वंशीकुमार आचार्यको रोहवरमा बसेको बैठकमा यस्तो निर्णय गरिएको हो । रासस
प्रतिक्रिया