मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सहिदका विषयमा सरकारले ठोस काम गर्छ : प्रधानमन्त्री

सहिदका विषयमा सरकारले ठोस काम गर्छ : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रताका लागि जीवन उत्सर्ग गर्ने सहिदका विषयमा अध्ययन गर्न समिति बनाइएकाले ठोस काम हुने प्रतिबद्धता जनाउनुभएको छ ।
 
सहिद रत्नकुमार बान्तवाको ३७औँ स्मृति दिवसका अवसरमा आज नेकपा (एमाले) इलाम–काठमाडौँ सम्पर्क मञ्चले पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
 
“यस वर्ष फागुन १९ गते सरकारले विसं २००७ पछि प्रजातन्त्रका लागि लड्ने २२ जना निर्विवादित व्यक्तिलाई सहिद घोषणा गरेको छ, यस क्रममा बान्तवा पनि ३७ वर्षपछि सहिद घोषित हुनुभयो, जसलाई मन लाग्यो उसलाई सहिद बनाउँदा बान्तवा जस्ता निरङ्कुशता विरोधी अभियानमा मारिने व्यक्ति छुट्नुभएको थियो”–उहाँले भन्नुभयो ।
 
सहिदका विषयमा अहिलेसम्म गरिएका कामको अध्ययन गरेर छुटेकालाई सहिद घोषणालगायतका काम राज्यले गर्न उपप्रधान एवम् रक्षामन्त्री भीमबहादुर रावलको संयोजकत्वमा समिति गठन गरिएको जानकारीसमेत प्रधानमन्त्री ओलीले गराउनुभयो । सो अवसरमा प्रधानमन्त्री ओलीले पार्टीका महासचिव ईश्वर पोखरेलद्वारा सहिद बान्तवाका विषयमा लिखित ‘पूर्वको रातो तारा’ पुस्तक विमोचन गर्नुभएको थियो ।
 
बान्तवालाई सरकारले विसं २०७२ फागुन १९ गते सहिद घोषणा गरेको थियो । बान्तवासँगै पञ्चायती निरङ्कुशताविरुद्ध स्वतन्त्रता प्राप्तिका लागि जीवन आहुति दिने क्याप्टेन यज्ञबहादुर थापा, दुर्गानन्द झा, भीमनारायण श्रेष्ठ, भीमदत्त पन्तलगायत २२ जनालाई सहिद घोषणा गरिएको थियो ।
 
कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालले स्वतन्त्रताको आन्दोलनमा लाग्ने बान्तवा जस्ता योद्धा मारेकैले पञ्चायती व्यवस्था र राजतन्त्र समेत पतन भएको बताउनुभयो । “बहुआयामिक प्रतिभाका धनी बान्तवा अध्ययनशील नेता हुनुहुन्थ्यो, उहाँ जनतासँग चाँडो एकाकार हुन सक्नुहुन्थ्यो, यस किसिमले योगदान गर्ने व्यत्ति अरु पनि छन् अध्ययन गरेर सहिद घोषणा गरिनुपर्छ”–उहाँले भन्नुभयो ।
 
अर्का नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सहिद बान्तवाले आफनो जीवन अरुको कल्याण एवम् सामाजिक परिवर्तनमा खर्चनुभएको स्मरण गर्नुभयो । “जसलाई पनि सहिद घोषणा गर्दा बान्तवा जस्तो योगदान गरेका योद्धा कयौँ छुटेका छन्, यस विषयमा साहित्यकार मोदनाथ प्रश्रित नेतृत्वको कार्यदलले सिफारिस गरेको प्रतिवेदन सरकारले कार्यान्वयन गर्नुपर्छ”–उहाँले भन्नुभयो ।
 
पुस्तकका लेखक महासचिव पोखरेलले बान्तवासँग सँगै पढेको र सहकार्य पनि गरेकाले ती बेलाका सम्झना एवम् टिपोटलाई पुस्तकका रुपमा प्रकाशन गरिएको बताउनुभयो ।
 
कार्यक्रममा पूर्वसभामुख सुवास नेम्वाङले बान्तवाले नेपालको लोकतान्त्रिक एवम् वामपन्थी आन्दोलनमा गर्नुभएको योगदान स्मरणीय रहेको सुनाउनुभयो । मेची अञ्चल इञ्चार्ज हिक्मत कार्कीले इलामस्थित सहिद बान्तवाको जन्मस्थललाई राजनीतिक पर्यटकीयस्थलका रुपमा विकास गर्न माग गर्नुभयो ।
 
विसं २००८ चैत २७ गते इलामको चमैता चित्रेमा जन्मनुभएका बान्तवालाई पञ्चायतको अन्त्य र प्रजातन्त्रको पुनःस्थापनाका लागि लडेकै अभियोगमा विसं २०३५ चैत २७ गते २७ वर्षको उमेरमा इभाङमा प्रहरीले हत्या गरेको थियो । रासस
 

शेयर गर्नुहोस:

0
Shares