मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

म्यानमारमा आस्थाका १३८ जना बन्दी रिहा

म्यानमारमा आस्थाका १३८ जना बन्दी रिहा


याङ्गुन । म्यानमारको जेलमा रहेका राजनीतिक आस्थाका बन्दी रिहाइको प्रक्रिया सुरु भएको समाचार छ । शुक्रबारमात्र सो प्रक्रियाबाट कम्तीमा १३८ जना बन्दी रिहा गरिएको जनाइएको छ ।
 
म्यानमारको राजधानी नेपित्व तथा अरु चार वटा जेलमा रहेका बन्दीमध्ये करिब १३८ जनालाई शुक्रबार राति रिहा गरिएको छ । उनीहरुको बाँकी जेल जीवन माफी गरी रिहा गरिएको प्राप्त समाचारमा जनाइएको छ ।
 
यसरी आममाफी पाएका ती बन्दीमा अधिकांश विद्यार्थी रहेका छन् । राजनीतिमा लागेर दलका क्रियाकलापको प्रचारप्रसार गरेको आरोपमा यसअघिको सैनिक सरकारले उनीहरुलाई केही वर्षदेखि जेलमा राखेको थियो ।
 
उनीहरुलाई रिहा गर्ने सङ्केत प्राप्त भएको भन्दै शुक्रबार बिहानैदेखि ती विद्यार्थीका आफन्त जेलको परिसरमा जम्मा भएका थिए । आफन्तहरुको शुक्रबार जेलमा भिड लागेको समाचारमा जनाइएको थियो । 
 
म्यानमारकी नवनिर्वाचित विदेशमन्त्री एवम् प्रजातन्त्रवादी नेत्री आङ सान सुकीले म्यानमारको जेलमा रहेका राजनीतिक बन्दीको रिहाइका लागि आफूले जतिसक्दो चाँडो प्रक्रिया सुरु गर्ने बताउनुभएको थियो । 
 
सोहीबमोजिम उनीहरुलाई जेलबाट मुक्त गरिएको बताइएको छ । म्यानमारको जेलमा रहेका राजनीतिक अस्थाका बन्दीको रिहाइका लागि आफूले पक्रिया थाल्ने आश्वासन बिहीबारमात्र सुकीले एक सार्वजनिक सम्बोधनका क्रममा दिनुभएको थियो ।
 
उहाँले प्राथमिकताका आधारमा यस्ता बन्दीलाई रिहा गरिने भन्दै अब कसैले पनि राजनीतिक विचारधाराका कारण जेलमा बस्नुनपर्ने गरी नागरिकलाई सरकारले न्याय दिने पनि जनाउनुभएको थियो । 
 
विदेशमन्त्री सुकीलाई राष्ट्रिय सल्लाहकारको रूपमा विशिष्ठ स्थान म्यानमारको सरकारले दिएको छ । उक्त पदमा बहालीपछिको पहिलो सार्वजनिक सम्बोधनमा उहाँले आफ्नो पहिलो काम ती बन्दीको रिहाई हो, भन्नुभएको थियो । 
 
कैयौँ वर्षदेखि म्यानमारमा सैनिक शासन कायम रहेकोले उनीहरूले प्रजातन्त्रको माग गर्ने अधिकारवादीलाई बन्दी बनाउँदै आएका छन् । अझै पनि म्यानमारको जेलमा हजारौँ यस्ता राजनीतिक बन्दी रहेका बताइन्छ । 
 
अरु पनि केही बन्दीलाई म्यानमारको जेलबाट मुक्त गर्ने तयारी गरिएको जनाइएको छ । म्यानमारको आगामी नयाँ वर्षका क्रममा ती मुक्त हुनेछन् । 
 
म्यानमारमा आगामी मङ्गलबार पानी महोत्सव हँुदैछ । यसलाई एक विशेष पर्वका रुपमा लिने गरिन्छ । त्यसका लागि आजैदेखि सार्वजनिक बिदा सुरु भएको छ ।
 
सरकारले थप बन्दीलाई पनि आगामी केही दिनमा रिहा गर्ने तयारी गरेकामा मङ्गलबारको कार्यक्रमका लागि केही दिनयतादेखि नै सार्वजनिक बिदाको आयोजना गरेकोले थप रिहाइ गर्न नपाइएको बताइएको छ । रासस÷एएफपी