मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

‘पानामा पेपर्स स्क्यान्डल’ पछि निर्दोष दाबी गर्ने बढे

‘पानामा पेपर्स स्क्यान्डल’ पछि निर्दोष दाबी गर्ने बढे


पेरिस । विश्व नेता तथा प्रतिष्ठित व्यक्तित्वलगायतका नाम जोडी आएको ‘पानामा पेपर्स स्क्यान्डल’ ले उनीहरुको नाम जोडी समुद्रपार गएर गर्ने गरेका वित्तीय कारोबारका समाचार बाहिर ल्याइदिएपछि यस साता एक तरङ्ग उत्पन्न गरेको छ । 
 
यसरी वित्तीय कारोबार गरेका भनिएका व्यक्तिहरुबाट मङ्गलबार आफूहरु उक्त दस्तावेजले दाबी गरेअनुसार दोषी नभएको भन्दै विश्व नेता, व्यापारी तथा अन्य प्रतिष्ठित व्यक्तिबाट प्रतिक्रिया आउन थालेका छन् । 
 
दस्तावेजले ठूला वित्तीय अनियमिततामा संलग्नता भएको भनी नाम सार्वजनिक गरेका व्यक्ति तथा सङ्घसंस्थाले आफूहरुलाई अन्यायपूर्ण तरिकाले लक्षित गरिएको दाबी गर्दै आफूलाई निर्दोष सावित गर्ने प्रयासस्वरुप दाबीप्रति अस्वीकारोक्ति व्यक्त गरेका छन् । 
 
कैयौँ राष्ट्रले राजस्व छली गरी अकुत सम्पत्ति आर्जन गरी विदेशी वित्तीय संस्थामा सम्पत्ति थुपारेको भनी छानबिन प्रक्रियालाई अगाडि बढाउने बताइसकेका छन् । 
 
पानामा पेपर्स नाम दिइएको एक वैधानिक फर्म मोज्याक फोनसेकाले अज्ञात स्रोतबाट उपलब्ध गराएको भनिएको अनियमित कारोबारसम्बन्धी समाचार जर्मन दैनिक पत्रिका सिदोचे जाइतुनले पाएपछि यसलाई विश्वका करिब १०० भन्दा बढी सञ्चारमाध्यमलाई बाँडिएको थियो । उनीहरुले यसको करिब एक वर्षको अध्ययनपश्चात आफ्नो खोजलाई आइतबार सार्वजनिक गरेका थिए । 
 
दस्तावेजले चिनियाँ कम्युनिस्ट नेता सी जिनपिङका आफन्तजन, रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन, आइस्ल्यान्डका प्रधानमन्त्री सिगमण्डर डेभिड गनलागसन र वार्सिलोनाका सुप्रसिद्ध फुटबर स्ट्राइकर लियोनल मेसीलगायतका करिब १ करोड १५ लाख दस्तावेजको अध्ययन गरेको र प्रसिद्ध यी नामहरुका पछि पनि आर्थिक अनियमितताका कुरालाई जोडेको छ । 
 
जाँचअनुसार करिब १४० जना विश्वहस्ती राजनीतिज्ञको नाम जोडिएर आएपछि विश्वभर विशेष चर्चा भएको छ । दस्तावेजले करिब ४० वर्षको लेनदेनलाई सम्मिलित गरी अनुसन्धान गरेको बताइएको छ । 
 
बेइजिङले आईसीआईजीको दाबीको आधिकारिक प्रतिक्रिया दिएको छैन तर दस्ताबेजले चिनियाँ कम्युनिस्ट पार्टीको शक्तिशाली एकाईका आठ जना वर्तमान तथा पूर्व सदस्यमाथि आर्थिक अनियमितताको दोषारोपण गरेको छ । यसमा आर्थिक अनियमितता विरुद्धको अभियानमा लागेर सुधारका लागि कार्यरत नेता सी जिनपिङको नाम जोडिएर आएपछि के चीनले उनीहरुमाथि कारबाही गर्छ त भन्ने प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हङलेइले यस्ता ‘आधारहीन आरोपबारे आफूले कुनै टिप्पणी नगर्ने’ बताउनुभएको छ । 
 
त्यसैगरी, रसियाली प्रशासन केन्द्र क्रेमलिनले रसिया र नेता पुटिनको नाम जोडेर आएको यस अफवाहलाई अमेरिकाको षड्यन्त्र भनेको छ । रसियाली नेता पुटिनको निकट सहयोगीको नाम समुद्रपारको वित्तीय कारोबार गर्ने शासकको शीर्षस्थानमा राखिनुलाई अमेरिकाको बेइमानी भनेको छ । 
 
पुटिन निकट सहयोगीको नाममा २ अर्ब अमेरिकी डलरको अकुत सम्पत्ति आर्जन गरी विदेशी बैंकमा राखेको आरोप छ । 
 
दस्तावेजमा आइस्ल्याण्डका पूर्व पत्रकार तथा प्रधानमन्त्री सिग्मदुर ड्याभिड गनलगसनको पनि आर्थिक अतियमितता गरी आफू र आफ्नो श्रीमतीको नाममा ‘ब्रिटिस भर्जिन आइल्यान्डस’ लाई सन् २००७ मा किनेको दाबी गरेको छ । 
 
यसपछि ठूलो समूह संसदको बाहिरपट्टी जम्मा भई उनको राजीनामा मागेको छ । यहाँको प्रतिपक्षी दलले उहाँप्रति अविश्वासको प्रस्ताव दर्ता गर्न तयारी गरेका छन् । तर प्रधानमन्त्रीले आफूले केहीँकतै त्यस्तो पैसा नलुकाएको दाबी गर्नुभएको छ । 
 
आफूलाई निर्दोष बताउँदै आइस्ल्यान्डको टेलिभिजनमा सम्बोधन गर्दै यो अफवाहका कारण मैले प्रधानमन्त्रीको पद त्याग्ने कुरा सोचेको पनि छैन र त्याग्ने पनि छैन भन्नुभयो । 
 
बेलायती प्रधानमन्त्री ड्याभिड क्यामरुनका पिताको नाम जोडिएर आएपछि क्यामरुनको डाउनिङ स्ट्रिट अफिसले यो निजी कुरा भएको जनाएको छ । तर सरकारी स्रोतले पछि प्रधानमन्त्रीको व्यक्तिगत खाता कुनै विदेशी बैंकमा नभएको दाबी गरेको छ । एएफपी