मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अङ्ग प्रत्यारोपणको चेतना फैलाउन खेलकुद

अङ्ग प्रत्यारोपणको चेतना फैलाउन खेलकुद


भक्तपुर । मानव अङ्ग प्रत्यारोपण केन्द्र र आरोग्य प्रतिष्ठानले अङ्ग प्रत्यारोपण गरिएका व्यक्ति र अन्य व्यक्तिबीच मैत्रीपूर्ण खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । 
 
अङ्ग प्रत्यारोपण गरिएका व्यक्ति हरेक प्रकारबाट स्वस्थ हुन्छन् भन्ने सन्देश देशव्यापी रूपमा लैजाने उद्देश्यले हरेक नयाँ वर्ष वैशाख १ गतेका दिन गर्दै आएको प्रतियोगिता यस वर्ष भने धरानमा हुने भएको छ ।
 
मङ्गलबार मानव अङ्ग प्रत्यारोपण केन्द्रले भक्तपुरमा आयोजना गरेको पत्रकारसम्मेलनमा यसबारे जानकारी दिँदै केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले आगामी वैशाख १ गते सातौँ नेपाल प्रत्यारोपण मैत्रीपर्ण खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको जानकारी दिनुभयो ।
 
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने खेलकुदमा फुटबलसँगै एथ्लेटिक्स, ब्याडमिन्टन, दौड लगायतको प्रतियोगिता हुने उहाँले बताउनुभयो । डा श्रेष्ठले भन्नुभयो¬˗“मानव अङ्ग प्रत्यारोपण गरेका व्यक्ति पनि अरूसरह नै स्वस्थ जीवन जिउन सक्षम हुन्छन् भन्ने देशव्यापी चेतना जगाउने उद्देश्यले विगत सात वर्षदेखि सञ्चालन गर्दै आएको प्रतियोगिता यस वर्ष धरानमा गर्ने भएका छौँ ।”
 
प्रतियोगितामा एकतर्फ अङ्ग प्रत्यारोपण गरिएका व्यक्तिको समूह र अर्कोतर्फ डाक्टर, नर्स, पत्रकार, कलाकार, नेता लगायतका विभिन्न तहका व्यक्तिबीच खेल हुने भएको हो । प्रतियोगितामा भाग लिन काठमाडाँैबाट अङ्ग प्रत्यारोपण गरिएका व्यक्ति, अङ्गदान गर्ने व्यक्तिसहित २०० जनाको टोली धरान जाने भएका छन् । प्रतियोगिताअन्तर्गत चैत ३० गते अङ्ग प्रत्यारोपणसम्बन्धी जनचेतनामूलक ¥याली र अन्तरक्रियाको आयोजना गर्ने भएको छ ।
 
मैत्रीपूर्ण फुटबल प्रतियोगितामा विजयी हुने समूहमध्येका दुईजनालाई आगामी २०१७ मा स्पेनको मालागामा हुने अन्तर्राष्ट्रिय प्रत्यारोपण खेलकुद प्रतियोगितामा सहभागी हुने अवसर दिइने भएको डा श्रेष्ठले जानकारी दिनुभयो । यसप्रकारको प्रतियोगिता यसअघि काठमाडौँमा चारपटक, पोखरा र बुटवलमा एक एक पटक आयोजना गरिसकिएको छ । प्रतियोगितालाई धरानस्थित प्रतिष्ठान, धरान उद्योग वाणिज्य सङ्घ, रोटरी क्लब अफ धरानलगायत बिभिन्न संस्थाले सहयोग गर्ने भएका छन् । रासस