जेनेभा । बारुदी सुरुङका कारण अझै पनि प्रतिदिन विश्वभर १० जनाको मृत्यु हुने गरेको सोमबार संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
बारुदी सुरुङबाट ४० प्रतिशतभन्दा बढी बालबालिका पीडित हुने गरेको राष्ट्रसङ्घ बारुदी सुरुङसम्बन्धी मामिला हेर्ने कार्यालयका प्रमुख ब्रनो डोनाटले बताउनुभयो ।
डोनाटले बारुदी सुरुङ जागरुकता तथा बारुदी सुरुङ गतिविधिबारे ११ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा बारुदी सुरुङ र यसबाट आजका दिनमा हुने गरेका घातक परिणामबारे बताउनु भएको थियो ।
उहाँले बारुदी सुरुङले ओगटेको करिब ६४ वर्ग किलोमिटर जमिनलाई अहिलसम्म सफा गरिए पनि अझै अफगानिस्तान, इराक, माली, प्यालेस्टाइन, सोमालिया, दक्षिण सुडान र सिरियालगायत ठाउँमा यसको खतरा बढी मात्रामा रहेको बताउनुभयो ।
उक्त अवसरमा उहाँले थप्नुभयो, राष्ट्रसङ्घले आन्तरिक तथा बाह्य आक्रमणबाट सुरक्षित रहन विछ्याइएका यस्ता सुरुङ र तीनका घातक परिणामबारे यस वर्ष प्रत्यक्ष रुपमा अन्तरक्रियात्मक कार्यक्रम गरी सम्भावित दुर्घटनाबाट बच्न सचेत गराइने बताउनुभयो । सिन्ह्वा
प्रतिक्रिया