नवलपरासी । सामुहिक बलात्कारमा परेकी नवलपरासीको कावासोतीकी १३ वर्षीया बालिकाका दोषी ५ दिन हुँदासमेत पक्राउ पर्न सकेका छैनन् । ती बालिकालाई ३ जना युवाहरुले सामूहिक बलात्कार गरेका थिए । घटनापछि उनीहरु फरार रहेका छन् ।
दोषिलाई पक्राउ गरि कानुनी कारवाहि गर्नकालागी नवलपरासीका महिला अधिकारकर्मीहरुले दिनहुँ प्रहरी प्रशाशनलाई दबाब दिईरहेका छन् ।
प्रहरी चौकीबाट करीब ३ किलोमिटरको दुरीमा घटेको घटनाको दोषी प्रहरीले चाहेको भए तुरुन्तै पक्राउ गर्न सक्ने तर प्रहरी प्रशाशन राजनैतिक दबाब र पैसाको आडमा दोषीलाई पक्राउ गर्न हिच्किचाईरहेको पीडित पक्षको आरोप रहेको छ ।
घटना भएपछि पनि पिडक पक्षबाट घटनालाई समाजमै मिलाउन भन्दै प्रलोभन समेत देखाएको पीडित पक्षका आफन्तहरुले बताएका छन् । तीन जना मध्येका एक युवा केहि दिनमा नै अमेरिका जाने तयारीमा रहेकाले उसको भविश्य बर्बाद हुने, लगानी खेर जाने भन्दै उनको परिवारले बलात्कृत भएकी बालिकालाई पढाउने, विवाह पनि आफैले खर्च गरेर गरिदिने भन्दै प्रलोभन देखाएको बालिकाकी छिमेकी कलिया मुसहरले बताउनुभयो ।
आफुहरु उनीहरुको प्रलोभनमा नपरि बालिकाले न्याय पाउनैपर्छ र दोषिलाई कारवाहि हुनैपर्छ भनेर किटानी जाहेरी दिएको र महलिाअधिकारकर्मीलाई गुहारेको उहाँको भनाई छ । पीडित पक्षको आर्थिक अवस्था कमजोर भएको र कहि कतै पहुँच नभएकाले प्रहरी प्रसाशन पीडकलाई पहुँच र पैसाको आडमा उम्काउन खोजेको बालिकाका आफन्तको आरोप छ ।
केहीदिन यता यस घटनाले नवलपरासी तातेको छ । दिनहु पीडित पक्ष र महिला अधिकारकर्मी प्रहरीमा दोषीलाई पक्राउ गर्न दबाब दिईरहेका छन् । आज पनि प्रहरीमा महिलाअधिकाकर्मीहरुले दबाब दिन पुगेका छन् । सोमबार पनि करीब ३ घण्टासम्म ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख पर्शुराम तिवारीसंग महिलाअधिकारकर्मीको टोली छलफलमा बसेको थियो ।
प्रहरी प्रमुख तिवारीले दोषीलाई पक्राउ गर्न आफले सक्दो प्रयास गरेको बताउनुभएको थियो । उहाँले आफु कुनै प्रलोभन र दबाबमा नआएको भन्दै बलात्कारजस्तो जघन्य अपराध गर्नेलाई आफुले कुनै हालतमा नछोड्ने बताउनुभयो । उहाँले उनीहरुको खोजी तिब्र रुपमा भैरहेको जानकारी दिनुभयो । पीडित र महिलाअधिकारकर्मीहरुले छलफल गर्ने र आज पनि आश्वासन मात्रै आए भोलीबाट शसक्त आन्दोलन गर्ने बताएका छन् ।
पीडित बालिकालाई परासीको सेवा केन्द्रमा राखिएको छ । उनले राम्रोसँग खानासमेत नखाईरहेकोले स्वास्थ्यमा कमजोरी देखिएको छ । प्रहरी प्रमुख तिवारीका अनुसार डक्टरी रिपोर्ट अझै आएको छैन् । घटनास्थलबाट युवाहरुको सर्ट पाईन्ट समेत बरामद गरिएको छ ।
प्रतिक्रिया