मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दलको नेतामा देउवा र पौडेलको उम्मेदवारी

दलको नेतामा देउवा र पौडेलको उम्मेदवारी


काठमाडौँ । नेपाली काँग्रेस व्यवस्थापिका–संसद्, संसदीय दलका नेतामा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गर्नुभएको छ । 
 
यही चैत २४ गते हुने संसदीय दलको नेताको निर्वाचनका लागि निर्धारित तालिकानुसार आज देउवा र पौडेलले आफ्ना पक्षका संसद्को दलबलका साथ उपस्थित भई उम्मेदवारी दर्ता गर्नुभएको हो ।  देउवाको समर्थकमा पदमनारायण चौधरी र प्रस्तावकमा फरमुल्ला मन्सुर तथा पौडेलको समर्थकमा प्रकाशमान सिंह र प्रस्तावकमा डा शशाङ्क कोइराला रहेको निर्वाचन समितिले जनाएको छ । 
 
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले मधेसको समस्या समाधान गरी संविधान कार्यान्वयन गर्न र पार्टीलाई एक ढिक्का बनाउन आफूले उम्मेदवारी दिएको बताउनुभयो । “व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दलको हैसियतमा मुलुकका सबै पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन मेरो उम्मेदवारी हो” – उहाँले भन्नुभयो ।
 
त्यस्तै उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्र्दै नेता पौडेलले संसदीय दलको निर्वाचन पार्टीको लोकतान्त्रिक अभ्यास हो भन्नुभयो । “काँग्रेसमा देखिएका समस्या समाधान गर्न र पार्टीलाई जिम्मेवारी बाँडफाँटका साथ एकताबद्ध बनाउन मेरो उम्मेदवारी हो” – उहाँले भन्नुभयो ।  संविधान कार्यान्वन्यनका लागि सबैको अपनत्व ग्रहण गराउन आफूले पहल गर्ने बताउँदै उहाँले त्यसको नेतृत्व काँग्रेसले गर्नुपर्छ भन्नुभयो ।  
 
तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि रिक्त काँग्रेस संसदीय दलको नेताको निर्वाचन हुन लागेको हो । काँग्रेसमा २०७  सांसद छन् । काँग्रेसमा संसदीय दलको नेतालाई सम्भावित प्रधानमन्त्रीका रुपमा हेरिने भएकाले यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।  
 
दलको निर्वाचन गर्न काँग्रेसले केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ  । समितिले आज बिहान ९ देखि दिउँसो १२ बजेसम्म समय निर्धारण गरेको थियो ।  समितिले उम्मेदवारको अन्तिम नामावली आजै अपराह्न २ बजे प्रकाशन गर्ने र मतदान भने बुधबार चैत २४ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म गर्ने निर्वाचन तालिका रहेको समिति सदस्य गुरुराज घिमिरेले जानकारी दिनुभयो । 
 
काँग्रेस संसदीय दलको निर्वाचन विद्युतीय मतदानबाट हुने तय भएको छ । त्यसका लागि आजै निर्वाचन आयोगका अधिकारीले सांसदलाई विद्युतीय मतदान यन्त्रका बारेमा जानकारी गराउनुभएको छ । विद्युतीय यन्त्रमा उम्मेदवारको नामावली नेपाली वर्णानुक्रमानुसार रहनेछ । 
 
संसदीय दलको नेताको निर्वाचनपछि चैत २६ गते संसदीय कार्यसमितिको निर्वाचन गर्ने तालिका छ । कार्यसमितिमा प्रत्येक प्रदेशबाट एक एक जनाका दरले सात र समानुपातिक प्रतिनिधित्वको सिद्धान्त बमोजिम १५ जनाको निर्वाचन हुने दलको प्रावधान छ । 
 
कार्यसमितिको निर्वाचनका लागि समितिले उम्मेदवारी दर्ताका लागि चैत २५ गते बिहान ११ देखि अपराह्न १ बजेसम्म समय निर्धारण गरेको छ । समितिका उम्मेदवारीको अन्तिम नामावली चैत २५ गते अपराह्न ५ः३० बजे प्रकाशन गरिनेछ । दलको सबै निर्वाचन कार्यक्रम पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा हुँदैछ । रासस