मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भीआईपीको सुरक्षा व्यवस्था मिलाउन भ्याईनभ्याई

भीआईपीको सुरक्षा व्यवस्था मिलाउन भ्याईनभ्याई


चितवन । चितवनमा पछिल्लो समय अति विशिष्ट व्यक्ति (भीआईपी)हरुको नियमित आगमन हुने गरेको छ । भीआईपीको आगमनले यहाँका सुरक्षा प्रमुखहरुलाई सुरक्षा व्यवस्था मिलाउन भ्याईनभ्याई भएकोे छ । 
 
दिनहुँजसो एक न एक भीआईपी चितवन आइरहेका छन् । भीआईपीको सुरक्षा व्यवस्था मिलाउन प्रहरी प्रशासनले समय खर्च गरिरहेको छ । अन्य गतिविधिहरुलाई थाती नै राखेर भीआईपीको सुरक्षा व्यवस्था मिलाउन प्रहरी प्रशासन लाग्नुपरेको छ । 
 
भीआईपीलाई स्वागत गरेर र सुरक्षा प्रदान गर्नमा यहाँका प्रशासक र कर्मचारीलाई खुब आतुर भएको छ । कोही राजमार्गबाट आउँछन्, कोही जहाजबाट । 
 
कोही हेलिकप्टर प्रयोग गरेर आएका छन् । चैत १५ गतेदेखि यता एक हप्तामा दैनिकजसो भीआईपीको आगमन भइरहेको छ । एक महिनाको अवधिमा २१ दिन भीआईपीको आगमन भएको छ । 
 
चैत महिनाको २१ गतेसम्ममा १३ जना भीआईपी चितवन आएको एक तथ्यांकले देखाएको छ । पछिल्ला समयमा चितवनमा राष्ट्रियस्तरका कार्यक्रमहरु हुन थालेपछि भीआईपीहरुको आगमनले तीव्रता पाएको हो । 
 
‘भीआईपीलाई सुरक्षा प्रदान गर्ने जिम्मेवारी हाम्रो हो र हामीले जिम्मेवारीलाई सफलताका साथ पूरा गरेका छौं,’ चितवनका प्रजिअ विनोदप्रकाश सिंहले भने । पूर्वप्रधानमन्त्री एवम् एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गत फागुन २३ गते पटिहानी आए । 
 
एक महिनाको अवधिमा २ पटक प्रचण्ड चितवन आएका हुन् । फागुन २५ गतेको विश्व नारी दिवसमा भारतीय राजदूत रन्जित रे आए । त्यस्तै, पद्मोदय भलिवलको समापन समारोहमा एमाले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल आए । 
 
फागुन २५ मा स्थानीय शान्ति समितिको कार्यक्रममा सहभागी हुन शान्ति मन्त्री रामनाथ ढकाल, फागुन २७ मा मन्त्री विश्वेन्द्र पासवान, फागुन २९ गते पूर्वमन्त्री एवम् काँग्रेस नेता रामचन्द्र पौडेल, ३० गते पूर्वमन्त्री खड्कबहादुर विश्वकर्मा, सोही दिन अर्थराज्य मन्त्री दामोदर भण्डारी पनि चितवन आएका थिए । 
 
चैत ४ गते नयाँ शक्ति अभियानका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई चितवन आएका थिए । उनी चैत २० गते फेरि चितवन आएका थिए । चैत ६ गते स्वास्थ्यमन्त्री रामजनम चौधरी, ८ गते प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, ११ गते पशुपंक्षी विकासकी शान्ति मानवी, चैत १२ गते सूचना विभागका आयूक्त कृष्णहरि बाँस्कोटा, १२ गते प्रचण्ड चितवन आएका थिए । 
 
चैत १७ गते प्रधानमन्त्री केपी ओली र उपप्रधानमन्त्री विजय गच्छेदार चितवन रत्ननगरमा आएका थिए । चैत १९ गते भूमिसुधार मन्त्री विराज विष्ट र २० गते उपप्रधानमन्त्री चित्रबहादुर केसी चितवन आएका  थिए । आइतबार गृहमन्त्री शक्तिबहादुर बस्नेत चितवन आए । यी भीआईपीहरुको रोजाइमा भरतपुर उपमहानगरपालिकाको गाडी परेको छ । 
 
तत्कालीन कार्यकारी अधिकृत नारायण सापकोटालाई यही महँगो गाडी किन्दा कालोमोसोसम्म दलिएको थियो । यहाँका राजनीतिक दलले सत्तोसराप गरेका थिए । अहिले त्यही गाडी भीआईपीहरुलाई बोक्न प्रयोग भएको छ । बा २ झ १४६२ नम्बरको ल्याण्ड क्रुइजर प्राडो अहिले भीआईपीको रोजाइ बनेको छ ।