चितवन । नेपाली काँग्रेस चितवनले अबका दिनमा जिल्लामा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गरेको छ ।
पार्टीभित्रको विवाद र पार्टी सञ्चालनलाई मिलाएर लैजाने विषयमा सांसद, पार्टीको पूर्व सभापति, पूर्व सांसदहरुसँग छलफल गरेको हो । काँग्रेस चितवनलाई अझै बलियो बनाउनका लागि आवश्यक रायसमेत सो अवसरमा लिइएको थियो ।
काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा काँग्रेसका पूर्व सभापतिहरुले काँग्रेसलाई बलियो बनाउनका लागि युवाहरुको महत्वपूर्ण हात रहने भन्दै भातृ संगठनहरुलाई क्रियाशील बनाउनका लागि आग्रह गरेका छन् ।
काँग्रेस बलियो बनाउनका लागि भातृसंगठन चलायमान हुन आवश्यक रहेको उनीहरुको भनाइ थियो । पछिल्लो समाय काँग्रेसप्रति जनताको आकर्षण बढेको भन्दै उनीहरुले तल्लो तहसम्मका कार्यक्रताहरुलाई प्रशिक्षित गर्दै अग्रजको सल्लाहअनुसार पार्टी चलाउनका लागिसमेत कांग्रेसका अग्रजहरुले सुझाव दिएका थिए ।
हरेक काँग्रेसीको सुख दुःखमा साथ दिँदै कांग्रेसको नीतिबारे जानकार गराउन सके पार्टी आफैं बलियो बन्दै जाने उनीहरुको भनाइ रहेको थियो । पार्टी चलाउनका लागि सहज नभएकाले जिम्मेवार पदमा बसेका व्यक्तिहरु पारदर्शी हुन आवश्यक रहेको भन्दै उनीहरुले पार्टी कार्यसमितिलाई पूर्णता दिँदै कार्य विभाजन गरेर अगाडि बढ्नसमेत आग्रह गरेका थिए ।
कार्यक्रममा पूर्व सभापतिहरु टेकप्रसाद गुरुङ, कृष्णलाल सापकोटा, पृथ्वीमान गुरुङ, टीकाराम न्यौपाने, तोपमान सिंह गुरुङ, सांसदहरु अन्जनी श्रेष्ठ, रामकृष्ण घिमिरे, क्षेत्रीय सभापतिहरु, नगर सभापतिहरु र जिल्ला कार्यसमितिको सहभागिता रहेको नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी दिए ।
प्रतिक्रिया