मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सिके राउतलाई ‘इन्काउन्टर’ गर्न सुझाव

सिके राउतलाई ‘इन्काउन्टर’ गर्न सुझाव


काठमाडौँ । देश विण्डनको घोषित अभियानमा रहेका सिके राउतको बुधबार एबीसी टेलिभिजनले लिएको अन्तरवार्तालाई लिएर उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले कडा आपत्ति जनाएका छन् । देश टुक्र्याउनुपर्छ भनेर अन्तरवार्ता दिने राउतलाई ‘इन्काउन्टर’ गर्नुपर्ने र अन्तरवार्ता लिने टेलिभिजनमाथि समेत कारवाही गर्नुपर्ने उपराष्ट्रपति पुत्र पुनले प्रतिक्रिया दिएका छन् ।
 
पुनले बिहीबार आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘सिके राउतले हाकाहाकी देश टुक्र्याएर अर्को देश बनाउछौं भन्दा पनि हामी देश सम्झेर चुपचाप सुनिरहनुपर्ने यो कस्तो लोकतन्त्र ? यो कस्तो अभिव्यक्ति स्वतन्त्रता ? म प्रधानमन्त्री र गृहमन्त्री वा सुरक्षा प्रमुख हुन्थें भने यो देशद्रोहीलाई सिधै इन्काउन्टरको आदेश दिने थिएँ ।’
 
फेसबुकमा पुनको टिप्पणीलाई धेरैले समर्थन गरेका छन् । अनलाइखखबरसँगको कुराकानीमा पुनले टेलिभिजनमा राउतको अन्तरवार्ता हेरेपछि असैह्य भएर फेसबुकमा लेखेको बताए ।
 
पुनले भने, ‘घैंटे जस्तो एउटा मामुली गुण्डालाई प्रहरीले इन्काउन्टर गर्छ । तर, खुल्लमखुल्ला देश टुक्र्याउँछु भनेर हिँडिरहेको व्यक्तिलाई खुल्ला छाडिन्छ, योभन्दा ठूलो दुर्भाग्य के हुन्छ र?’
 
उनले राउतलाई पक्राउ गर्दै छाड्दै गरेकोमा पनि प्रहरीको आलोचना गरे । उनले भने, ‘प्रहरीले उल्टो उसलाई हिरो बनाउने काम गरिरहेको छ । कि आजीवन कारावासमा राख्न सक्नुपर्यो, कि इन्काउन्टरमा जानुप¥यो ।’
 
अन्तरवार्ता लिने टेलिभिजनप्रति पनि पुन आक्रामक भए । उनले भने, ‘एउटा राष्ट्रिय स्तरको टेलिभिजन देशको राष्ट्रियताप्रति उत्तरदायी हुनुपर्छ कि पर्दैन? सिके राउतले कस्तो विचारको वकालत गर्छन् भन्ने जान्दा जान्दै उनलाई स-सम्मान अन्तरवार्तामा बोलाउनुको आशय के हो ? यस्ता टेलिभिजनमाथि रोक लगाउनुपर्छ ।’
 
तराईमा स्वतन्त्र देशको अभियान चलाउँदै आएका राउत तीन दिन अघि काठमाडौं आएका हुन् । टेलिभिजनमा अन्तवार्ता आएपछि सञ्चार माध्यमहरुको नियमन गर्ने सरकारी निकाय प्रेस काउन्सिलले सो टेलिभिजनमाथि कारवाहीको तयारी गरेको छ । टेलिभिजनमाथि कस्तो कारवाही गर्ने भन्नेबारे छलफल गर्न काउन्सिलको आकस्मिक बैठक बोलाइएको अध्यक्ष बोर्णबहादुर कार्कीले बताएका छन् । 
 
यसैबीच,  सिके राउतलाई रिपोर्टस क्लवमा उभ्याएर पत्रकार सम्मेलन गराउने ऋषि धमलाको प्रयास असफल भएको छ । प्रेस काउन्सिलको हस्तक्षेपपछि धमलाको प्रयास असफल भएको छ ।