ट्युनिस् । ट्युनिसियाली सुरक्षाबल र सशस्त्र समूहबीचको झडपका क्रममा पछिल्लो समयमा लिबियाको सीमाक्षेत्रमा हिंसा बढ्दै गएको समाचारमा जनाइएको छ ।
यस झडपमा परी उक्त क्षेत्रमा हरेक दिन नागरिक हताहत हुने गरेको बताइएको छ । गत हप्तामात्र पनि सो क्षेत्रमा भएको झडपमा परी १७ जनाभन्दा बढी संदिग्ध आतङ्ककारीको मृत्यु भएको थियो ।
तीन दिनदेखि शान्तजस्तो रहेको सो सीमा क्षेत्रमा बुधबार पुनः झडप भएको सुरक्षाअधिकारीहरुले जनाएका छन् । उनीहरुले मङ्गलबार बिहानीपखदेखि नै झडप पुनःसुरु भएको बताएका छन् ।
बन्दुकधारीको एक समूहले लिबियाको सीमाक्षेत्रनजिकै रहेको सैनिक व्यारेक आक्रमण गरेपछि सो झडप भएको हो । सोही सैनिक पोष्टमा गतहप्ता भएको आक्रमणमा परी १० जना आतङ्ककारी मारिएका बताइएको थियो ।
सो आक्रमणमा परी कैयौं व्यक्ति घाइते भएका जनाइएको छ । तर यसको विस्तृत विवरण भने आएको छैन । ट्युनिसियाको राजधानीबाट ४५० किलोमिटर दक्षिणमा रहेको सो सहरमा अझै पनि झडप जारी रहेको प्रहरीको समाचारमा उल्लेख छ ।
यस उत्तर अफ्रिकी राष्ट्रमा गत वर्षदेखि थप हिंसा मच्चिएको छ । त्यहाँ पटकपटक आतङ्ककारी आक्रमण भइसकेको छ । लिबियाको सीमा क्षेत्रमा भएको यो आक्रमण यसै महिनाको दोस्रो पटकको हो । रासस/एएफपी
प्रतिक्रिया