चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षमा विद्युत् चाहिए जति पाइने दावी गरेका छन् । आज चितवनको रत्ननगरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एक वर्षभित्रमा लोडसेडिङ अन्त्य हुने र दुई वर्ष भित्रमा चाहिए जति विद्युत् उपभोग गर्न पाउने दावी गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘एक वर्षभित्रमा लोडसेडिङ अन्त्य हुन्छभन्दा हाँसी मजाक गर्छन्, दुई वर्षभित्रमा चाहिएजति विद्युत् पाईन्छ, त्यसपछि हिटर बाल्नुस्, भात पकाउनुस्, फ्रिज चलाउनुस् ।’
प्रधानमन्त्री ओलीले हालसालै भएको चीन भ्रमणमा राष्ट्रको हितमा राखेर पारवाहनलगायतका सम्झौता गरिएको भन्दै अब देश निर्माणको बाटोमा अघि बढ्ने बताए ।
उनले आफ्नो जीवन नै अतिरिक्त जीवन भएकाले अब बाँकी जीवन नै देशको विकासमा समर्पण गर्ने बताए । उनले पूर्व पश्चिम लोकमार्गलाई अब राजमार्ग नै बनाउन ६ लेनको बाटो निर्माण कार्य थालनी गरिने बताए ।
यस्तै प्रधानमन्त्री ओलीले चितवनमा जग्गा उपलब्ध भए मदनभण्डारी इन्स्टिच्युट अफ साईसन्स एण्ड टेक्नोलोजी निर्माण गर्ने बताए ।प्रधानमन्त्री ओली नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय वार्षिक साधारण सभा तथा रजतवर्ष शुभारम्भ कार्यक्रमको समुद्घाटन गर्न चितवन आउनु भएको हो ।
प्रतिक्रिया