मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

घरटहरा हुरीले उडाएपछि भूकम्पपीडितको बिचल्ली

घरटहरा हुरीले उडाएपछि भूकम्पपीडितको बिचल्ली


काठमाडौँ । हावाहुरीले भूकम्प प्रभावित क्षेत्र दारेचोक गाविसका झण्डै ७० वटा अस्थायी टहराका छानो उडाएको छ । अस्थायी टहराका छानो उडाएपछि भूकम्पपीडितहरु बिचल्लीमा परेका छन् । 
 
‘हामी त जसोतसो बसेका छौं’ दारेचोक ३ स्वराथोका अगुवा कृष्ण गुरुङले भने, ‘बालबालिका र महिलालाई निकै समस्या भएको छ ।’ सुत्केरी महिलाका लागि थप समस्या भएपछि आफूहरु समस्यामा परेको गुरुङले सुनाए । उनका अनुसार दारेचोक ३ स्वराथोकका २७ अस्थायी टहराको छानो उडाएको छ । 
 
हावाहुरीसँगै पानी परेपछि भूकम्पपीडित रुखको आड लागेर बसेका थिए । स्वराथोकसँगै अस्थायी टहरामा बस्दै आएका दारेचोक गाविस वडा नम्बर ९ पीपलडाँडाका २८ घर परिवारको पनि छाना उडाएको गाविस सचिव निलकण्ठ लामिछानेले जानकारी दिए । उनका अनुसार दारेचोककै तीन घरेको २० घर भूकम्पपीडित बस्दै आएको एउटा लामो टहराको छानो हुरीले उडाइदिएको छ । 
 
‘हुरीले अस्थायी टहराको छानो उडाइदिएपछि विचल्लीमा परियो भन्दै भूकम्पपीडितले फोन गर्न थालेका छन्’ गाविस सचिव लामिछानेले भने, ‘जसोतसो अस्थायी टहरामा जीवन गुजार्दै आएकाहरु हुरी र पानीबाट बच्न नसिकने भयो भन्दै सहयोगको आग्रह गरिरहेका छन् ।’ 
 
गाउँमा भएको क्षतिको विषयमा जिल्लामा जानकारी गराइएको उनले बताए । सरकारले भूकम्पपीडितका लागि घर बनाउन सहुलियत ऋण र अनुदानको व्यवस्था गरेपनि हालसम्म कार्यान्वयन नभएकाले भूकम्पपीडितहरु सरकारको कामप्रति आक्रोशित देखिन्छन् । 
 
‘सरकारले घर बनाउन आवश्यक रकम देला र फेरि सानो भए पनि घामपानी छेक्ने घर बनाउला भनेका थियौँ, स्वराथोकका कृष्ण गुरुङले भने, ‘भूकम्पपछि लामो वर्षा सह्यौ हिउँदमा घर बन्ला र चैते हुरीबतास अनि असिना पानीबाट घरपरिवार जोगाउँला भनेको त्यत्तिकै भयो ।’ 
 
वैशाखमा भूकम्पको असर खेपेका पीडितहरुले जसोतसो वर्षायाम कटाए अनि चाडबाड पनि भत्किएको घर र टहरामा मनाए । हिउँदमा सरकारको बजेट आएपछि घर बनाउँला भनी बस्नेहरु अर्को वैशाख १२ नजिक आइसक्दा पनि सरकारको घर निर्माणसम्बन्धी कुनै सहयोग नपाउँदा समस्या भएको छ । 
 
‘सरकारले ऋण सहयोग देला र घर बनाउँला भनेर बसेको भए यो हावाहुरी सहेर बिचल्ली भएर बस्नुपथ्र्यो’ दारेचोक ७ कमेरेका शिव भट्टराइले भने, ‘जसोतसो ऋणधन गरेर सामान्य घर बनायौँ, अहिले यो हावाहुरीमा पनि ढुक्कले बसेका छौँ ।’ 
 
भट्टराईजस्ता केही हुनेले घर बनाए पनि निमेक र ज्यालादारीमा बिहान बेलुकीको छाक टार्न मुस्किल हुनेहरुका लागि भने सरकारको सहयोग नै प्रमुख हुने देखिन्छ । चितवनमा पूर्ण रुपमा घर क्षति हुनेको संख्या ३ हजार ४८७ रहेको छ । 
 
चितवनमा भूकम्पबाट १२ हजार घरधुरी प्रभावित रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।