मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

महासंघको स्थापना दिवसमा पुस्तक संकलन

महासंघको स्थापना दिवसमा पुस्तक संकलन


चितवन । नेपाल पत्रकार महासंघ चितवनले महासंघको ६१ औँ स्थापना दिवसका अवसरमा शुभकामना आदाप्रदानसँगै पुस्तकहरु संकलन गरेको छ । ‘एक सदस्य : एक पुस्तक’ अभियानसहित गत वर्ष ६० औँ स्थापना दिवसमा स्थापना गरिएको पुस्तकालयलाई थप वृद्धि गर्ने उद्देश्यले पुस्तक संकलनलाई निरन्तरता दिइएको महासंघले जनाएको छ । 
 
चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले महासंघलाई पुस्तक हस्तान्तरण गरेर कार्यक्रमको सुरूवात गरेका थिए । पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि पुस्तकालयले सहयोग गर्ने भएकाले यसबाट चितवनको नागरिक समाजले समेत फाइदा लिन सक्ने उनले बताए ।कार्यक्रममा चितवनका पत्रकार, मिडिया व्यवस्थापक, पत्रकारिता सम्वद्ध संघसंस्था र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा क्रियाशील अगुवा संघसंगठनका प्रतिनिधि, स्थानीय निकायका प्रतिनिधि र सामाजिक संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।
 
स्थापना दिवसको अवसरमा नेपाली आमसञ्चारकर्र्मीहरूमा महासंघ चितवन शाखाले हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै शाखामा पुस्तकहरु संकलन गरेर रचनात्मक काम गरिएको शाखा अध्यक्ष हरिप्रसाद पोखरेलले जानकारी दिए । मुलुकमा नागरिक अधिकार, पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षा र श्रमजीवी पत्रकारको हकहितका लागि अग्रजहरूले सुरू गरेको प्रयास अहिले सार्थक भएको अध्यक्ष पोखरेलको भनाइ थियो । 
 
कार्यक्रममा पुस्तकालयका लागि महासंघलाई दियालो परिवारका अध्यक्ष बद्री अधिकारीबाट २५ हजार र चितवन जिल्ला गैरसरकारी संस्था समन्वय समितिका अध्यक्ष श्रीप्रसाद दवाडीबाट १० हजार रूपैयाँ बराबरको पुस्तक प्राप्त भएको थियो । सिनर्जी  एफएम प्रालिबाट प्राप्त एक थान दराज एफएमका प्रवन्ध निर्देशक सहनलाल प्रधानले मंगलबार शाखा अध्यक्ष हरिप्रसाद पोखरेललाई हस्तान्तरण गरेका थिए । 
 
कार्यक्रममा महासंघका उपाध्यक्ष दिपेन्द्र बडुवालले जस्तोसुकै प्रतिकुल अवस्थामा पनि श्रमजीवी पत्रकारको हकहित, लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताको रक्षाका लागि महासंघ रत्तिभर विचलित नहुने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा पुस्तकालय व्यवस्थापन समितिका संयोजक एवम् महासंघका कोषाध्यक्ष होमनाथ सापकोटाले महासंघलाई सूचना केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले पुस्तकालयको सुरूवात गरिएको बताए । 
 
कार्यक्रममा राप्ती नगरपालिकाका कार्यकारी अधिकृत भागिरथ रेग्मी, खैरहनी नगरपालिकाका कार्यकारी अधिकृत अमरनाथ ढकाल, चित्रवन नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र अर्याल, नारायणी नगरपालिकाका कार्यकारी अधिकृत रमेश सुवेदी, रत्ननगर नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सीताराम पोखरेललगायतले अबका दिनमा पुस्तकालयलाई व्यवस्थित गर्नुपर्ने र सञ्चारकर्मीहरुले आफ्नो पेशागत क्षमता अभिवृद्धितर्फ यसलाई उपयोग गर्नुपर्ने विचार व्यक्त गरेका थिए । 
 
केन्द्रीय साधारण सभा चितवनमा 
नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा आगामी बैशाख २१ र २२ गते चितवनमा हुने भएको छ । मे ३ को विश्व प्रेस स्वतन्त्रता दिवस पारेर चितवनमा साधारण सभाको उद्घाटन गर्ने निर्णय केन्दीय समिति बैठकले गरेको छ । महासंघको धुलिखेलमा सम्पन्न सातौं पूर्ण बैठकले साधारण सभाको मिति तय गरेको हो ।
 
साधारण सभा सफल पार्नका लागि अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा मूल समिति गठन गरिएको छ । समितिमा केन्द्रीय समितिका सबै पदाधिकारी, सल्लाहकार, लेखासमिति संयोजक तथा कार्यसमिति र लेखा समिति सदस्य एवम् चितवन शाखाका अध्यक्ष हरिप्रसाद पोखरेल रहेका छन् । 
 
साधारण सभालाई सम्पन्न गर्न चितवन शाखाले आवश्यक काम अगाडि बढाइसकिएको शाखा अध्यक्ष हरिप्रसाद पोखरेलले जानकारी दिए ।