मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विस्फोटमा खुट्टा गुमाएकी महिलाले क्षतिपूर्ति पाइनन्

विस्फोटमा खुट्टा गुमाएकी महिलाले क्षतिपूर्ति पाइनन्


खोटाङ । द्वन्द्वकालको बम विस्फोटमा परी खुट्टा गुमाएकी खोटाङकी एक महिलाको परिवारले आठ वर्ष बितिसक्दासमेत क्षतिपूर्ति पाएको छैन । 
 
सशस्त्र द्वन्द्वको समयमा नेपाली सेनाले बिछ्याएको माइन बम विस्फोटबाट देब्रे खुट्टा गुमाएकी सुन्तले–२ की ३५ वर्षीया शान्तादेवी बञ्जराको परिवारले हालसम्म क्षतिपूर्ति नपाएको हो । 
 
राहतको माग गर्दै छ वर्षअघि जिल्ला प्रशासन कार्यालय खोटाङमा निवेदन दिएपनि द्वन्द्वपीडित परिवारले पाउने राहत हालसम्म नपाएको पीडित शान्तादेवीका श्रीमान् तारानाथ बञ्जराले गुनासो गर्नुभयो । 
 
२०६८ साल साउन ४ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रहरी नायब उपरीक्षक वसन्त थापा, जिल्ला अस्पतालका डाक्टर ओमबिजु पन्तलगायतले बञ्जरालाई शान्ति तथा पुनःनिर्माण मन्त्रालयसमक्ष राहतका लागि सिफारिस गरेका थिए । 
 
बम विस्फोटबाट बञ्जराको देब्रे खुट्टाको घुँडामुनिको भाग चुँडिएको छ । द्वन्द्वको समयमा सुन्तलेको सुनापातालस्थित नेपाल टेलिकमको रिपिटर टावरको सुरक्षार्थ खटिएका सेनाले बिछ्याएको माइन विस्फोटमा २०६४ चैत १० गते शान्तादेवीले देब्रे खुट्टा गुमाउनुभएको हो । 
 
निम्न आर्थिकस्तरकी बञ्जरा अपाङ्ग बनेपछि नौ छोरी र एक छोराको लालनपालन र पठनपाठनमा समस्या भइरहेको तारानाथको भनाइ छ । बम विस्फोटमा खुट्टा गुमाएपछि बञ्जरासँगै राहतका लागि सिफारिस गरिएका फाक्टाङ–५ का कृष्णबहादुर राईले भने राहत पाइसक्नुभएको छ । 
 
बञ्जरालाई राहत दिलाउनका लागि पहल भइरहेको स्थानीय शान्ति समिति खोटाङका संयोजक श्यामराज राईले बताउनुभयो । “बञ्जरासँगै अन्यले पनि राहत पाएका छैनन्”, उहाँले भन्नुभयो, “यसका लागि मन्त्रालयसँग पहल गरिरहेका छौँ ।” रासस