मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

हावाहुरीले केराखेतीमा ठूलो क्षति

हावाहुरीले केराखेतीमा ठूलो क्षति


चितवन । चितवनमा सोमबार अपराह्न आएको हावाहुरीका कारण केराखेतीमा ठूलो क्षति पुगेको छ । 
 
चितवनको रत्ननगरसँगै चैनपुर, पिठुवा, पदमपुरलगायत क्षेत्रमा रहेका केरा बगानमा हावाहुरीले ठूलो क्षति पु¥याएको चितवन केरा उत्पादक सङ्घका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिनुभयो । 
 
उहाँको आफ्नै केराबगानमा समेत क्षति पुगेको छ । चैनपुरमा रहेको नौ विगाहा क्षेत्रमा लगाएको केराको आधाभन्दा बढी ढलेर नष्ट भएको पन्तले बताउनुभयो ।
 
  अन्य दर्जनौँ केरा किसानले क्षति भएको भनेर जानकारी दिएकाले विवरण सङ्कलन हुन नसकेको उहाँले बताउनुभयो । आज विवरण सङ्कलन गरिने पन्तको भनाइ छ । 
 
केरा व्यवसायीको बैठक बसी तथ्याङ्क सङ्कलनका लागि जिल्ला कृषि विकास कार्यालयसँग समन्वय गरेर आज अनुगमन गर्ने उहाँले बताउनुभयो ।
 
केरा किसान यज्ञ सुवेदीले पनि आफ्नो नोक्सानी भएको बताउनुभयो । चितवनको चैनपुरमा रहेको १२ विगाहाको प्लटमा करिब २÷३ हजार जति केरा ढलेको भन्दै उहाँले यो हावाहुरीले नराम्ररी प्रभावित पारेको बताउनुभयो । जिल्लामा सबैभन्दा बढी केराखेती उहाँको छ । बर्सेनि यहाँ हावाहुरीले केरामा क्षति गर्दै आएको छ ।
 
छ वर्षअघि ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत चितवनमा केराखेतीलाई प्रवद्र्धन गरिएपछि रु ६० करोड लगानी भइसकेको छ । जिल्लामा २०४७ सालदेखि केराखेती सुरु भएको थियो । २०५१ सालदेखि व्यावसायिक केराखेती सुुरु भएको चितवनमा पछिल्लो तथ्याङ्कमा दुई हजार २०० विगाहा जमिनमा खेती गरिएको छ ।
 
किसानले झापाली मालभोग र विलियम हाइब्रिड जातको केरा लगाउँदै आएका छन् । उत्पादित केरा काठमाडौँ, बुटवल, पोखरा र नारायणगढ बजारमा खपत हुन्छ । 
 
जिल्लामा रहेका केरा कृषकमध्ये १२० जनाले मात्रै बिमा गरेकाले बिमा नगर्नेले क्षतिपूर्ति पाउन सक्दैनन् र अघिल्लो वर्ष चितवनमा कुल ४४ हेक्टरमा रहेको केराखेती नोक्सान हुँदा रु दुई करोड ३८ लाख क्षति भएको थियो । रासस