मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

तीव्र गतिमा पुनःनिर्माण हुनुपर्नेमा जर्मनेली सांसद्को जोड

तीव्र गतिमा पुनःनिर्माण हुनुपर्नेमा जर्मनेली सांसद्को जोड


काठमाडौँ । नेपालको औपचारिक भ्रमणमा रहेको सङ्घीय गणतन्त्र जर्मनीको संसदीय प्रतिनिधिमण्डलले  भूकम्पपछिका पुनःनिर्माणका काम द्रुत गतिमा हुुनुपर्नेमा जोड दिएको छ । 
 
जर्मनीको संसद् बुन्डेस्टागको आर्थिक विकास सहायता समितिका अध्यक्ष डागमर जी होल्र्डले कूटनीति विधामा निरन्तर खबर लेख्दै आएका केही संवाददातासँग आज यहाँ भएको भेटमा जर्मनेलीले पुनःनिर्माणका लागि पठाएको रकम पूर्ण रुपमा उपयोग नभएको गुनासो गर्नुभयो । 
 
बुन्डेस्टागमा नेतृत्व गरेका सबै दलको प्रतिनिधित्व गरेकी पाँच सदस्यीय प्रतिनिधिमण्डलकी नेत्री होल्र्डले भन्नुभयो¬, “हाम्रो देशको कानुनले दान गरेको रकम एक वर्षभित्र खर्च नगरे दातालाई नै फिर्ता गर्नुपर्ने व्यवस्था गरेको छ, जर्मनीका जनताले पुनःनिर्माण गर्न नेपाललाई दिएको रकम खर्च भएको छैन ।”
 
भूकम्प भएको एक वर्ष पूरा हुन लागेका बेला त्यस अवधिमा पुनःनिर्माणलगायत पहिलेकै अवस्थामा फर्कन भएका प्रगतिबारे जर्मनी मात्र नभई विश्वभरका मानिसको ध्यान नेपालतर्फ सोझिएको बताउँदै सांसद होल्र्डले उपलब्धिका आधारमा मात्र अब अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्ने बताउनुभयो । 
 
छ दशकदेखिको जर्मनी र नेपालबीचको सहकार्यात्मक सम्बन्ध रहेको बताउँदै उहाँले नेपालको संविधानको स्वागतका सााथ नमिलेका विषय सबै दलसँगको समझदारी र सहकार्यमा मिलाउन उपयुक्त हुने बताउनुभयो । 
 
 
उहाँले बालश्रम अन्त्य गर्न जर्मनीबाट यथेष्ट सहयोग हुने प्रतिबद्धता व्यक्त गर्दै सरकारीस्तरमा दुवै देशका संसद् निकट सम्पर्कमा रहेको बताउनुभयो । नेपालसम्बन्धी प्रतिवेदन पनि सदन समक्ष प्रस्तुत गरिने जानकारी दिँदै उहाँले बुन्डेस्टागमा जर्मनीको नेपाल सहायता र नेपालको पछिल्लो अवस्थाबारे छलफल हुने बताउनुभयो ।
 
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले  सङ्क्रमणकालीन न्याय सम्पादनमा अपेक्षाकृत उपलब्धि हासिल नगरेकामा चासो व्यक्त गर्दै संसदीय टोलीले कानुनी आधार खडा नगरी पीडकलाई सजाय गर्न नसकिने र उपयुक्त कानुन बनाउन उत्तिकै जरुरी भएको जनाएको छ । पाँच दिवसीय भ्रमण पूरा गरी संसदीय प्रतिनिधिमण्डल आज राति स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ । रासस