मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गिरिजाबाबु मेरा अभिभावक : सभापति देउवा

गिरिजाबाबु मेरा अभिभावक : सभापति देउवा


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइराला शान्ति प्रक्रियाका अग्रज भएकाले उहाँ नाममा स्थापित कलेजलाई राज्यले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।
 
‘गिरिजाप्रसाद कोइराला स्मृति (सामुदायिक) कलेज’को तेस्रो स्थापना दिवसका अवसरमा आज चाबहिलस्थित कलेज परिसरमा आयोजित कार्यक्रममा उहाँले कोइराला पार्टीको मात्र नभएर राष्ट्रकै प्रेरक व्यक्तित्व भएको बताउँदै भन्नुभयो, “उहाँका बारेमा जति भने पनि कम हुन्छ, उहाँ देशकै इतिहास हुनुहुन्छ, उहाँको नाममा खोलिएको कलेजलाई राज्यले सहयोग गर्नुपर्छ र म पनि सक्ने सहयोग गर्नेछु ।”
 
पूर्वप्रधानमन्त्री देउवाले कोइराला आफ्ना सम्मानित अभिभावक रहेको बताउँदै भन्नुभयो, “कुनै बेला हामी दुईको सम्बन्धमा केही उतारचढाब आए पनि उहाँलाई म सधैँ एउटा खतरा मोल्न सक्ने र हिम्मतवाला नेताका रुपमा स्मरण गर्छु ।”
 
काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीभित्रैबाट प्राप्त उपलब्धिविरुद्ध उत्रने कार्य भइराखेको भन्दै त्यसतर्फ सचेत भएर काम गर्न सभापति देउवालाई सुझाव दिनुभयो । 
 
युवा नेता गगनकुमार थापाले पार्टीले सरकारको नेतृत्व गर्दै सबै जाति, क्षेत्र र वर्गका जनतालाई समेटी संविधान कार्यान्वयनमा अग्रसरता लिनुपर्ने बताउनुभयो ।
 
कलेजका अध्यक्ष तथा सांसद भीमसेनदास प्रधान, त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, क्याम्पस प्रमुख खिलानाथ सापकोटा लगायतले देशका सरकारी कलेजमा गुणस्तरीय शिक्षामा कमी रहेको र निजीमा चर्को शुल्क हुने गरेकाले यसको सन्तुलन मिलाउन सामुदायिक कलेज उपयोगी हुने बताउनुभयो । रासस