मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

होलीमा लोला हान्ने र जबर्जस्ती रंग दल्नेलाई सार्वजनिक मुद्दा

होलीमा लोला हान्ने र जबर्जस्ती रंग दल्नेलाई सार्वजनिक मुद्दा


चितवन । तपाइँले कसैको इच्छाविपरीत रंग दल्ने सोचाइ बनाउनुभएको छ भने, त्यो सोचाइ परिवर्तन गरिहाल्नु होला, नत्र तपाइँ पनि झ्याकिनु होला जेलमा । होली खेल्ने निहुँमा कसैको इच्छाविपरीत रंग दलेमा, लोला हाने फोहोर पानी फाले प्रहरीले सार्वजनिक मुद्दा चलाउने भएको छ ।
 
उपत्यकाका र विभिन्न जिल्लाका प्रहरी प्रमुखहरुले पत्रकार सम्मेलन गरेर जबर्जस्ती लोला हानेमा सामन्य मौखिक उजुरीमै सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिएर सार्वजनिक मुद्दा चलाउने जानकारी गराए ।
 
सवारीसाधन चलाउँदा र सडकमा हिँड्दा अवान्च्छित क्रियाकलाप गर्ने जोकोहीलाई प्रहरीले सडकबाटै नियन्त्रणमा लिने जनाएको छ । सडकमा निस्केर मादक पदार्थ खानेलाई पनि प्रहरीले छोड्ने छैन ।
 
छतमा बसेर होली खेल्दा विभिन्न दुर्घटना हुने जोखिमलाई कम गर्न प्रहरीले छतमा या पर्खालमा बसेर होली नखेल्न आग्रह गरेको छ । घरको छतमा बसेर अरुलाई लोला हान्दा लडेर दुर्घटना निम्तिन सक्ने भन्दै प्रहरीले आफ्ना बालबालिकाप्रति सचेत रहन आग्रह गरेको छ ।
 
रगंहरुको पर्व होली आउन एक दिनमात्रै बाँकी हुँदा प्रहरीले ‘होली विशेष सुरक्षा अभियान’ घोषणा गरेको छ । सडकमा मादक पदार्थ सेवन गर्दै हिँड्ने, अरुलाई जबर्जस्ती फोहोर पानी हाल्ने र रंग लगाउने जस्ता गतिविधि गरे पक्राउ गरेर सार्वजनिक मुद्दा चलाइने काठमाडौंका एसएसपी विक्रमसिंह थापाले बताए ।
 
होलीका नाममा विकृति फैलाउनेहरु कार्बाहीको दायरामा आउने उनको भनाइ थियो । ‘पर्वका नाममा सडकमा बोतल बोकेर हिँडनेहरु जुनसुकै बेला कार्बाहीमा पर्छन् ।’ त्यसरी मादक पदार्थ विक्री गर्ने पसलेहरुलाई पनि कार्बाही गरिने एसएसपी थापाले बताए । उनले भने, ‘पसलमा खरिद गर्न पाउँछन, तर त्यही पेटीमा बसेर पिउन पाइँदैन ।
 
बाटोमा खाँदै हिँड्न पनि पाइँदैन ।’ होलीका दिन ट्राफिक प्रहरी जनशक्ति साविकको भन्दा बढी खटिने छन् । सडकभरि ट्राफिक प्रहरीले होलीका दिन साविकको भन्दा बढी विभिन्न ठाउँमा बसेर मापसेलगायत कागजात चेक गर्ने जनाएको छ । यसैबीच, होलीमा लोला हान्नेलाई १० हजार रुपैयाँदेखि १ वर्षसम्म कैद सजाय हुने भएको छ ।