मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बर्सेनि दुई सय महिलालाई पाठेघरको क्यान्सर

बर्सेनि दुई सय महिलालाई पाठेघरको क्यान्सर


चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले बर्सेनि दुई सय महिलामा पाठेघरको मुखको क्यान्सर हुने गरेको जनाएको छ । महिला पाठेघरको संवेदनशीलताप्रति गम्भीर नभएका कारण बर्सेनि पाठेघरको क्यान्सरका बिरामीको संख्या बढ्दै गएको हो । 
 
रत्ननगर–११ मा वडा नागरिक मञ्चले आयोजना गरेको पाठेघरको मुखको क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा अस्पतालका क्यान्सर रोकथाम नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख किशोरकुमार प्रधानाङ्गले पाठेघरको मुखको क्यान्सर पछिल्लो समय भयानक बन्दै गएको बताए ।
 
उनले महिलाहरुले नियमित जाँच नगरेको कारण समस्या बल्झदै गएको जनाए । उनले अस्पतालमा पाठेघरको क्यान्सरको समस्या लिएर आउने ८० प्रतिशत बिरामीको मृत्यु हुने गरेको जानकारी दिए । पाठेघरको क्यान्सरका बिरामी अन्तिम अवस्थामा आउने गरेका कारण बचाउन नसकिएको हो । प्रधानाङ्गले पाठेघरको क्यान्सर भएका २० प्रतिशतलाई बचाउन सकिएको जानकारी दिए । ‘सुरुको अवस्थाका बिरामीलाई बचाउन सकिन्छ’, उनले भने, ‘अधिकांश बिरामीहरु अन्तिम अवस्था भएपछि मात्र अस्पतालमा आउँछन् ।
 
उनले समयसमयमा पाठेघरको मुखको क्यान्सर परीक्षण गराउन महिलालाई आग्रह गरे । ‘एकपटक परीक्षण गरेपछि पाँच वर्ष ढुक्क हुन्छ’, उनले भने, ‘त्यो जान्दाजान्दै पनि महिलाहरुले परीक्षण गराउन बेवास्ता गरेका छन् ।’ ‘रोग लागिसकेपछि सम्पत्ति पनि सकिने र मान्छे पनि नबाँच्ने अवस्था आउँछ’, उनले भने, ‘यस्तो अवस्था आउन नदिन समयमै क्यान्सर रोगबारे सचेत हुन जरुरी रहेको छ ।’
 
पछिल्लो समय महिलामा पाठेघरको मुखको र स्तन क्यान्सर बढी समस्याको रुपमा अगाडि आएको उनको भनाइ छ । डा। प्रधानाङ्गले एकएक महिनामा महिलाहरुले स्तन क्यान्सर परीक्षण गराउन सुझाव दिए । स्तनका महिलाहरु स्वयंमले गाठो र गिख्रा छ या छैन छामेर पत्ता लगाउन र सोही अनुसार स्वास्थ्य संस्थामा परीक्षण गराउन प्रधानाङ्गले आग्रह गरे ।
 
रत्ननगर नगरपालिकाको सहयोगमा आयोजना गरिएको शिविरको पहिलो दिन आइतबार ४० महिलाको पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिएको थियो । रत्ननगर नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख तेजेन्द्रनाथ लामिछाने प्रमुख अतिथि रहेको कार्यक्रममा वडा नागरिक मञ्च व्यवस्थापन समितिका सदस्य किशोर बगाले, नेपाली कांग्रेसका नवराज लामिछाने, एमाओवादीका मोहनप्रसाद भट्टराई, वडा नागरिक मञ्चका सहसंयोजक कमलीकान्त घिमिरेलगायतले मन्तव्य दिएका थिए ।
 
कार्यक्रम वडा नागरिक मञ्चकी संयोजक निर्मला खड्काको अध्यक्षतामा भएको थियो ।