मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बेलायतका राजकुमार ‘ह्यारी’ शनिबार नेपाल आउँदै

बेलायतका राजकुमार ‘ह्यारी’ शनिबार नेपाल आउँदै


काठमाडौँ । बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’ नेपालको औपचारिक पाँचदिने भ्रमणमा भोलि नेपाल आउँदै हुनुहुन्छ । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा राजकुमार ह्यारीबाट पहिलो पटक नेपाल भ्रमण हुन लागेको हो ।
 
प्रधानमन्त्री केपी शर्मा ओली र राजकुमार ह्यारीका बीचमा शनिबार नै शिष्टाचार भेटघाटको कार्यक्रम तय भएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ ।
 
  राष्ट्रपति विद्यादेवी भण्डारीसँग राजकुमार ह्यारीले राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार शिष्टाचार भेट गर्नुहुनेछ । 
 
यसपछि राजकुमार ह्यारीे गत वैशाख महिनामा नेपालमा गएको विनाशकारी भूकम्पले क्षति पु¥याएका ललितपुर र भक्तपुरका स्थलको भ्रमणमा निस्कनु हुनेछ । यसक्रममा उहाँले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार स्क्वायरमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक स्थलमा भएको क्षतिको अवलोकन गरी जानकारी लिनुहुने छ । साथै उहाँले नागबहालस्थित ‘गोल्डेन टेम्पल’को अवलोकनसमेत गर्नुहुनेछ । 
 
सोही दिन राजकुमार भक्तपुर जानु भई भूकम्पपीडित समूदायसँग उनीहरूका भोग्नुपरेका दुःख र व्यथाहरू सुन्नुहुने र सहानुभूति प्रकट गर्नुहुनेछ । त्यहाँ अवस्थित विपद्का समयमा वितरण गरिने आकस्मिक राहत सामग्रीका बारेमा पनि जानकारी लिनुहुनेछ । 
 
पर्वतीय पदयात्रामा सौखिन ३२ वर्षीय राजकुमार ह्यारी सुन्दर पर्यटकीय नगरी पोखराको प्राकृतिक दृश्यावलोकन गर्न त्यसतर्फ जानुहुने यहाँस्थित बेलायती दूतावासले जनाएको छ । त्यहाँ रहँदा उहाँले वीरता र पराक्रममा ख्याति कमाएका गोर्खा सैनिकका परिवारजनसित भलाकुसारी गर्नुहुनेछ । साथै गोर्खा सैनिक कल्याणकारी कोषले भूकम्पले क्षति पु¥याएका संरचना निर्माणसम्बन्धी जानकारीसमेत लिनुहुनेछ । ‘जहाँ गोर्खा सैनिक छन् त्यहाँ सुरक्षाको कुनै चिन्ता छैन’ भनेर गोर्खा सैनिकको बहादुरी र इमान्दारिताको राजकुमारबाट उच्च प्रशंसा हुँदै आएको छ । 
 
पोखरा बसाइँमा स्थानीय समुदायबाट प्रदर्शित हुने लोकसंस्कृतिको राजकुमारले प्रत्यक्ष रुपमै रसस्वादन गर्नुहुनेछ । साथै उहाँले सूर्याेदय तथा सूर्यास्तको मनमोहक दृश्यावलोकनसमेत आनन्द लिनुहुनेछ । साथै सोही दिन राजकुमार बर्दिया राष्ट्रिय निकुञ्ज जानुभई यसको अवलोकन गर्नुहुनेछ । त्यहाँ अवस्थित खौराहा नदीमा जलयात्रामा सरिक हुनुहुनेछ । 
 
भ्रमणका क्रममा राजकुमारबाट नेपालमा पहिलो पटक आयोजना हुन लागेको बालिका सम्मेलनमा सहभागी हुुनुहुनेछ । संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ), बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी)को आर्थिक एवम् प्राविधिक सहयोगमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले सो सम्मेलन आयोजना गर्न लागेको हो । 
 
राजकुमारले सोही दिन कान्ति बाल अस्पताल जानुभई यसका बारेमा जानकारी लिनुहुनेछ । साथै सानोठिमी प्राविधिक विद्यालय जानुभई प्राविधिक शिक्षाका बारेमा जानकारीसमेत लिनुहुनेछ । 
 
सन् १८५२ मा प्रधानमन्त्री जङ्गबहादुर राणाबाट प्रारम्भ भएको उच्चस्तरीय नेपाल बेलायत भ्रमण आदानप्रदानले दुईदेशबीचको सम्बन्धलाई थप सुदृढ तुल्याउँदै आएको छ । हालसम्म नेपालबाट बेलायतको उच्चस्तरीय भ्रमणले पनि निरन्तरता पाउँदै आएको छ । 
 
बेलायतकी महारानी एलिजाबेथबाट सन् १९६१ र १९८६ मा दुई पटक नेपालको भ्रमण भयो भने युवराज चाल्र्स, युवराज्ञी डायना, राजकुमार फिलिपले नेपालको यात्रा गरिसक्नुभएको छ । रासस