मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

हत्याका आरोपी अदालतबाटै फरार

हत्याका आरोपी अदालतबाटै फरार


बर्दिया । कर्तव्य ज्यान मुद्दाका प्रतिवादी जिल्ला अदालतबाटै फरार भएका छन् । आइतबार जिल्ला अदालतमा थुनछेक आदेश बहस चल्दै गर्दा बर्दिया ठाकुरद्वारा–४ सुतैयाका २३ वर्षीय टोपे भनिने अजिव बूढा क्षेत्री जिल्ला अदालतबाटै फरार भएका हुन् । 
 
शौचालय पसेका बूढा क्षेत्री शौचालयकै भेन्टीलेसनबाट भागेको प्रहरीले जनाएको छ । शौचालय गएको १० मिनेटसम्म पनि उनी बाहिर नआएपछि प्रहरीले ढोका ढकढकाउँदा कुनै प्रतिक्रिया नआएपछि भेन्टीलेसनबाट भित्र हेर्दा कोही नदेखिएपछि भेन्टीलेसनबाटै भागेको थाहा भएको हो । 
 
फागुन ५ गते ठाकुरद्वारा ४ सुतैयाका ६९ वर्षीय जोरे थापालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । 
 
शौचालयभित्रबाटै बन्द रहेको र भेन्टीलेसन खुल्ला रहेकाले त्यहीबाट अभियुक्त भागेको ठहर गरिएको छ । शौचालय जाँदा प्रहरीले उनको हातको हतकडी खोलिदिएको थियो । हतकडी खोलेकाले नै उसलाई भाग्न सजिलो भएको बताइएको छ । फरार अभियुक्तको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको छ । 
 
मृतक थापाका छोरा डम्मर थापाले प्रशासनको लापर्बाहीका कारण हत्यारा भागेको आरोप लगाएका छन् । अदालतबाटै अभियुक्त फरार हुँदा अदालतमा सुरक्षाको विषयमा प्रश्न चिह्न खडा भएको छ । रासस