मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चीन भ्रमणमा उच्चस्तरको सम्बन्ध बनाउन सुझाव

चीन भ्रमणमा उच्चस्तरको सम्बन्ध बनाउन सुझाव


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका विषयमा पूर्वप्रधानमन्त्री, परराष्ट्रमन्त्री तथा परराष्ट्र सचिवसँग परामर्श गर्नुभएको छ ।
 
बालुवाटारमा छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले चीन घनिष्ट मित्रराष्ट्र भएकाले दुई देशको सम्बन्धलाई कसैसँग तुलना नगरी मित्रवत् रुपमा अघि बढाउन सुझाव दिएको बताउनुभयो ।
 
“अन्तर्राष्ट्रिय सम्बन्ध अत्यन्त संवेदनशील हुन्छन्, आन्तरिक तयारी गरेर जानु उपयुक्त हुन्छ, नेपाल संवेदनशील भू–राजनीति भएको र स्वतन्त्र र सार्वभौम राष्ट्र भएकाले प्रत्येक देशसँग स्वतन्त्र ढङ्गले सम्बन्ध अगाडि बढाउनुपर्छ, त्यस्तै चीनसँग पनि”– भटृराईले भन्नुभयो ।
 
त्यस्तै, आर्थिक परनिर्भरताको अन्त्य गर्नका लागि भौतिक निर्माणको कुरामा जोड गर्नुपर्ने भन्दै उहाँले रसुवागढीको नेपालपट्टिको बाटो अझै पूर्णरुपमा निर्माण नभएको र रेलमार्ग जोड्नुपर्ने कुरालाई बढी प्राथमिकता दिनुपर्ने सल्लाह दिएको जानकारी दिनुभयो ।
 
पूर्वप्रधानमन्त्री भट्टराईले अहिलेको युग कूटनीतिक भएकाले चीनको पूँजी आकर्षित गरेर नेपालको यातायात, जलस्रोतलगायतका क्षेत्रमा विकास गर्न सुझाव दिएको बताउनुभयो ।
 
पूर्वपरराष्ट्रमन्त्री डा रामशरण महतले चीनसँग विश्वासको वातावरण निर्माण गरी रेलमार्ग विकास तथा चीनको सहयोगका निर्माणाधीन योजना चाँडो सम्पन्न गर्ने सुझाव दिएको बताउनुभयो ।
 
“कतिपय योजनामा ढिलाइ भएको छ, चीनको लगानी नेपालमा विगतमा भएको प्रतिबद्धता कार्यान्वयन भएको छैन, त्यो हुनुप¥यो”– उहाँले भन्नुभयो ।
 
पूर्वपरराष्ट्रमन्त्री महतले लगानी विस्तार गर्न दुई देशको सम्बन्धलाई अझ बलियो बनाई चीनको बजारमा नेपालको सामानको व्यापार विस्तारलगायतका विषयमा सुझाव दिएको बताउनुभयो ।
 
प्रधानमन्त्रीका विदेश मामिला विज्ञ गोपाल खनालले सरकारको आसन्न चीन भ्रमणका क्रममा दुई देशबीचको उच्चस्तरको सम्बन्ध, विश्वासको वातावरण बनाई पारवहन सम्झौता र व्यापारिक सम्झौता गर्नुपर्ने सुझाव आएको जानकारी दिनुभयो । 
 
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान मन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, पूर्वप्रधानमन्त्री डा भट्टराई, पूर्वपरराष्ट्रमन्त्रीहरू डा महत, रमेशनाथ पाण्डे, महेन्द्र पाण्डे, ईश्वर पोखरेल, माधव घिमिरे तथा पूर्वपरराष्ट्र सचिवहरू हुनुहुन्थ्यो । रासस