मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

स्थानीय निकायको निर्वाचन छिट्टै : प्रधानमन्त्री ओली

स्थानीय निकायको निर्वाचन छिट्टै : प्रधानमन्त्री ओली


ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय निकायको निर्वाचन छिट्टै हुने बताउनुभएको छ ।
 
नेपाल नगरपालिका सङ्घको २३औँ स्थापना दिवसको उद्घाटन गर्दै उहाँले लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन भएकाले तीव्ररुपमा देशको विकास हुन नसकेको बताउनुभयो । उहाँले स्थानीय निकायको स्वायत्तता लोकतन्त्रमा अपरिहार्य भएको समेत उल्लेख गर्नुभयो ।
 
उपत्यकाका सबै स्थानमा नगरपालिका हुनु भनेको विकासका खुड्किला भएको उहाँले बताउनुभयो । उहाँले नगरपालिका हुनु नै आफैँमा चुनौतीसमेत भएको औँल्याउनुभयो ।
 
नगरपालिका भएपश्चात् स्थानीय क्षेत्रमा विकासले गति लिएको समेत तर्क गर्दै उहाँले विकासका लागि राष्ट्रिय भावनाका साथ साझा प्रयासस्वरुप सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
 
प्रधानमन्त्री ओलीले संविधानसभाको दोस्रो निर्वाचनपछि स्थानीय निकायको निर्वाचन गर्ने प्रतिबद्धता रहे तापनि संविधान बनाउनुको विकल्प नभएकाले निर्वाचन गराउन नसकेको बताउनुभयो । स्थानीय निर्वाचनपछि देशमा थप विकासका काम द्रुतगतिले अघि बढ्न सक्ने उहाँले उल्लेख गर्नुभयो ।
 
उहाँले राजधानी सहरलाई विकास गर्न मजबुत किसिमको गुरुयोजना बनाएर गर्न सकिने र यसले गर्दा नमुना सहर बनाएर उपत्यकालाई मेट्रो सिटी बनाउन सकिने पनि उहाँको विश्वास रहेको थियो ।
 
सङ्घका अध्यक्ष डोरमणि पौडेलले स्थानीय क्षेत्र विकासमा निर्वाचित जनप्रतिनिधिको आवश्यकता रहेकाले छिट्टै स्थानीय निर्वाचन गराउनुपर्नेमा जोड दिनुभयो ।
 
सो अवसरमा प्रधानमन्त्री ओलीले २०१२ सालमा पहिलोपटक काठमाडौँ नगरपालिकामा मेयरमा निर्वाचित हुनुभएका जनकमान श्रेठलाई सम्मान गर्दै उहाँको योगदानको कदर गर्नुभएको थियो ।
 
यसैगरी, उहाँले नेपालकै उत्कृष्ट वालिङ नगरपालिकालाई रु एक लाख नगद पुरस्कार वितरण गर्नुभएको थियो । रासस