मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आरक्षणतर्फ देउवा प्यानलका बहुमत सदस्यहरु निर्वाचित

आरक्षणतर्फ देउवा प्यानलका बहुमत सदस्यहरु निर्वाचित


काठमाडौँ । कांग्रेसको आरक्षणतर्फको केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा प्यानलका बहुमत सदस्यहरु निर्वाचित भएका छन् । समावेशीतर्फका महिला, दलित, जनजाति, मधेसी र मुस्लिमसहित कुल २२ सदस्यमा देउवा प्यानलका १४ जना निर्वाचित भएका छन् । 
 
सभापतिमा पराजित रामचन्द्र पौडेलको प्यानलबाट भने आठजना मात्रै निर्वाचित भएका छन् । शनिबार साँझ सम्पन्न मतगणनामा महिलाबाट डिला संगौला, पुष्पा भुसाल, कमला पन्त, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने र सरिता प्रसार्इं निर्वाचित भएका छन् । 
 
संग्रौला, भुसाल, बस्नेत र न्यौपाने देउवा प्यानलका हुन् भने पन्त र प्रसाईं पौडेल प्यानलका हुन् । संगौला, प्रसाईं र न्यौपाने केन्द्रीय समितिका नयाँ अनुहार हुन् । अरू सबै भने यसअघि पनि महिला आरक्षणतर्फबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
 
मधेसीतर्फका दुई महिला र तीन पुरुषमा देउवा प्यानलबाट अजय चौरासिया, महेन्द्र यादव र पार्वती डीसी चौधरी निर्वाचित भएका छन् । पौडेल प्यानलबाट रामकृष्ण यादव र किरण यादव निर्वाचित भएका छन् । मधेसी कोटामा किरणमात्रै नयाँ अनुहार हुन् । अन्य सबै यसअघि पनि मधेसी कोटाबाटै केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
 
दलित आरक्षणतर्फ तीन पुरुष र दुई महिलामा देउवा प्यानलका चार र पौडेल प्यानलका एकजना विजयी भएका छन् । दलिततर्फ मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, लक्ष्मी परियार र सुजाता परियार देउवा प्यानलबाट निर्वाचित भएका हुन् । जीवन परियार मात्र पौडेल प्यानलबाट निर्वाचित भएका छन् । लक्ष्मी मात्रै केन्द्रीय समितिमा नयाँ अनुहार हुन् । अन्य सबै यसअघि पनि दलित आरक्षण सिटबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
 
जनजाति आरक्षणतर्फ पौडेल प्यालनबाट तीनजना र देउवा प्यानलबाट दुईजना निर्वाचित भएका छन् । पौडेल प्यानलबाट चीनकाजी श्रेष्ठ, कल्याणकुमार गुरुङ र रत्ना शेरचन निर्वाचित भएका छन् भने देउवा प्यानलबाट बहादुरसिंह लामा र सीता गुरुङ निर्वाचित भएका छन् । जनजातिबाट सीताबाहेक अरू सबै केन्द्रीय समितिमा नयाँ अनुहार हुन् ।
 
मुस्लिमतर्फको एक केन्द्रीय सदस्यमा भने यसअघिनै देउवा प्यानलका फरमुल्ला मन्सुर निर्वाचित भइसकेका छन् । निर्वाचन समितिका अनुसार आइतबार साँझ वा सोमबार बिहानसम्म सबैको मतगणना सम्पन्न गर्ने तयारी छ । शनिबार साँझसम्ममा आरक्षणतर्फको मतगणना सकिएको छ भने सबैभन्दा लामो समय लाग्ने खुला २५ सदस्यको १५ सय मत गणना सकिएको छ । खुलातर्फ शेखर कोइरालाले अग्रता लिएका छन् । 
 
त्यस्तै प्रदेशतर्फको मतगणना शनिबार सुरु भएको छ । प्रदेशमा सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलका प्यालनबीच बराबरीले अग्रता लिएका छन् ।
 
निर्वाचित केन्द्रीय सदस्यहरू: 
 
महिलातर्फ
 
डिला संगौला,
पुष्पा भुसाल
कमला पन्त
ईश्वरी न्यौपाने
अम्बिका बस्नेत
सरिता प्रसार्इं
मधेसीतर्फ
अजयकुमार चौरासिया
महेन्द्र यादव
रामकृष्ण यादव
पार्वती डिसी चौधरी
किरण यादव
जनजातितर्फ
चीनकाजी श्रेष्ठ
बहादुरसिंह लामा
कल्याणकुमार गुरुङ
सीता गुरुङ
रत्ना शेरचन
दलिततर्फ
जीवन परियार
मानबहादुर विश्वकर्मा
मीन विश्वकर्मा
लक्ष्मी परियार
सुजाता परियार
मुस्लिमतर्फ
फरमुल्ला मन्सुर