काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएलगत्तै सरकार परिवर्तनबारे विभिन्न बहस भइरहेका बेला स्वयं देउवाले भने ओली सरकार आफ्नै बोझले ढल्ने टिप्पणी गरेका छन् ।
कांग्रेसले अहिले सशक्त प्रतिपक्षीको भूमिका खेल्ने बताउँदै उनले यो सरकारमा पनि सहभागी नहुने उनले जनाएका छन् । आज रिपोटर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने, ‘सशक्त प्रतिपक्ष नभए शासक तानाशाही हुन्छ । गलत विपक्षी भए प्रजातन्त्र कमजोर हुन्छ । दह्रो प्रतिपक्ष भए प्रजातन्त्र बलियो हुन्छ । त्यसैले हामी प्रतिपक्षमा बस्छौँ । यो सरकारमा हामी सहभागी हुँदैनौँ ।’
आफ्नो उद्देश्य संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर अब प्रजातन्त्रलाई कसैले पनि खोस्न नसक्ने अवस्थामा पुर्याउने भएको भन्दै उनले संविधानको कार्यान्वयन, सीमांकन मिलाउने र मुलुकमा लगानीको वातावरण बनाएर समृद्ध र सम्पन्न नेपाल बनाउन लाग्ने बताए ।
उनले भने, ‘अहिले महंगी छ, कालाबजारी छ, आपूर्ति अस्तब्यस्त छ त्यसको विरुद्ध काग्रेसले संसद समेतमा आवाज उठाउँछ ।’ मधेसी मोर्चाले उठाएको सीमांकनसहितका मुद्दाहरुलाई वार्ताबाटै समाधान गर्ने स्पष्ट पार्दै आवश्यक परे संविधान संसोधनसमेत गर्न सकिने उनले बताए ।
सभापतिमा निर्वाचित भएपछि आफूमाथि पार्टीलाई मिलाएर अघि लैजाने जिम्मेवारी आएको पनि उनले बताए । देउवाले भने, ‘मेरो कार्यकालका कसैलाई काखापाखा गरिने छैन । सबैलाई समेटेर म अगाडि बढ्छु । रामचन्द्र पौडेलजी मेरो पुरानो सिनियर साथी हो । उहाँले धेरै दुःख पाउनु भएको छ । उहाँसँग मिलेर काम गर्छु । उहाँलाई मिलाउने काम मेरो हो । उहाँसँग अनुभव छ । उहाँले लामो संघर्ष गर्नुभएको छ, त्यसको मूल्याङकन अवश्य हुनेछ ।’
सभामुखको गल्ती
देउवाले न्यायपरिषदले गरेको सिफारिस फिर्ता गरेर सभामुख ओनसरी घर्ती मगरले गल्ती गरेको पनि बताए ।
‘सभामुखले हस्तक्षेप गर्ने होईन । सम्मानित पदले यस्तो काम गर्न हुँदैन । उहाँले फिर्ता पठाउने होइन, सुनवाई समिति बनाउने हो । फिर्ता गर्नु परे पनि सुनवाई समितिले गर्छ । न्यायाधीश सिफारिस मलाई चित्त बुझोस् नबुझोस् त्यसको अर्थ छैन । गलत काम सभामुखले गर्न सुहाउँदैन । सभामुख सम्मानित र तटस्थ पद हो,’ उनले भने ।
सभामुख घर्ती असल मान्छे भए पनि उनलाई कसैले फसाएको हुनसक्ने भन्दै देउवाले यस विषयमा आफूले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग कुरा गर्ने पनि बताए ।
प्रतिक्रिया