मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पौडेल समूहका महामन्त्रीमा कोइराला र कोषाध्यक्षमा यादव विजयी

पौडेल समूहका महामन्त्रीमा कोइराला र कोषाध्यक्षमा यादव विजयी


काठमाडौँ । नेपाली काँग्रेसको १३औँ महाधिवेशनबाट पार्टीको महामन्त्रीमा डा शशांक कोइराला र कोषाध्यक्षमा सीतादेवी यादव विजयी हुनुभएको छ । 
 
यही फागुन २३ गते राष्ट्रिय सभागृहमा भएको निर्वाचनको पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको मतगणनामा महामन्त्री पदका उम्मेदवार कोइराला एक हजार ४१७ मत ल्याई विजयी हुनुभयो । 
 
उहाँका निकटतम प्रतिद्वन्द्वी अर्जुननरसिंह केसीले एक हजार १७ मत प्राप्त गर्नुभएको छ । महामन्त्री कोइरालाले निकटतम प्रतिद्वन्द्वी केसीलाई ४०० मतअन्तरले हराउँदै विजयी हुनुभएको हो । अर्का उम्मेदवार गगनकुमार थापाले ५८४ मत प्राप्त गर्नुभएको थियो । कोइराला पौडेल समूहबाट महामन्त्रीका उम्मेदवार बन्नुभएको हो भने केसी देउवा पक्षबाट उम्मेदवार बन्नुभएको हो । 
 
काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका कान्छा सुपुत्रका रुपमा २०१५ सालमा विराटनगरमा जन्मनुभएका कोइराला आँखा विशेषज्ञ हुनुहुन्छ । कोइराला चिकित्सा क्षेत्र हुँदै २०४६ सालपछि राजनीति क्षेत्रमा प्रवेश गर्नुभएको हो ।
 
कोइराला १२औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ २०६४ र २०७० सालको संविधानसभाको निर्वाचित सभासद् हुनुहुन्छ । 
 
यस्तै कोषाध्यक्ष पदमा सीतादेवी यादव एक हजार २१७ मत ल्याई विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी चित्रलेखा यादवले एक हजार २१७ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्ष सीतादेवीले चित्रलेखालाई आठ मतअन्तरले हराउँदै विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । 
 
मतगणनाको प्रारम्भदेखि नै उहाँहरुबीच निकै प्रतिस्पर्धा देखिएको थियो । दुवैले सिरहा जिल्लाबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्दै आउनुभएको छ । कोषाध्यक्ष पदका अर्का उम्मेदवार उमाकान्त चौधरीले ४५७ र कृष्ण कार्कीले ६६ मत प्राप्त गर्नुभएको थियो । 
 
चित्रलेखा देउवा पक्षबाट उम्मेदवार बन्नुभएको हो । सीतादेवी पौडेल पक्षधर हुन् ।
 
सीतादेवीले काँग्रेस सिरहा जिल्ला सभापतिमा दुई कार्यकालको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । चित्रलेखाले पार्टीको कोषाध्यक्ष, उपसभामुख, शिक्षामन्त्रीलगायतको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।
 
पार्टी पदाधिकारीसहित ६४ पदका लागि यही फागुन २३ गते भएको निर्वाचनमा कुल तीन हजार १६१ मतदातामध्ये तीन हजार १४८ ले मतदान गरेका थिए । 
 
सभापतिमा कुनै पनि उम्मेदवारले विधानतः आवश्यक बहुमत ल्याउन नसकेपछि फागुन २४ पुनः निर्वाचन भएको थियो । सभापतिमा शेर बहादुर देउवा निर्वाचित भइसक्नुभएको छ । 
 
खुला केन्द्रीय सदस्यमा २५ पदका लागि ९० जनाको उम्मेदवारी परेको छ । आरक्षणतर्फ छ महिला केन्द्रीय सदस्य पदका लागि ३८, प्रदेश नं १ मा दुई केन्द्रीय सदस्यका लागि १३, प्रदेश नं २ मा पाँच, प्रदेश नं ३ मा १८, प्रदेश नं ४ मा नौ, प्रदेश नं ५ मा १०, प्रदेश नं ६ मा पाँच र प्रदेश नं ७ मा दुई पदका लागि सात जना उम्मेदवार मैदानमा छन् ।
 
आरक्षणमा आदिवासी जनजातितर्फ तीन केन्द्रीय सदस्यका लागि ४०, आदिवासी जनजाति महिलातर्फ दुईका लागि १२, दलित तीनका लागि २०, दलित महिलातर्फ दुईका लागि पाँच, मधेसी आरक्षणतर्फ तीनका लागि १५ र मधेसी महिलाका लागि नौ र मुस्लिम आरक्षणतर्फ एक पदका लागि छ जनाको उम्मेदवारी परेको छ । 
 
केन्द्रीय सदस्यको मतगणना हुने 
 
नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा खुलातर्फका २५ केन्द्रीय  सदस्यको निर्वाचनको मतगणना बुधबार बिहान १० बजेदेखि हुने भएको छ । 
 
निर्वाचन समितिका अनुसार खुलातर्फ २५ पदका लागि ९० जनाको उम्मेदवारी परेको छ । खुलातर्फको मतगणनापछि क्रमशः अन्य पदको मतगणना हुने छ ।