मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रोजगारको लोभमा युवतीहरु दलालको फन्दामा

रोजगारको लोभमा युवतीहरु दलालको फन्दामा


चितवन । युवती बेचबिखनमा लागेका गिरोहले प्रहरी र अन्य सरोकारवाला निकायको आँखा छल्न महँगो होटल र डिलक्स बस रोजेको पाइएको छ । महँगा होटल र डिलक्स बसमा प्रहरी निगरानी कम हुँदा गिरोहले युवतीहरु ओसारपसारको क्रममा यस्तो नयाँ तरिका अपनाउन थालेका हुन् ।
 
‘महँगा होटल र आरामदायी बसहरुमा खासै जाँच हुँदैन, त्यसैले युवती बेचबिखनमा लागेका गिरोहले यसका गरेको पाइयो’ चितवन प्रहरीका एक अनुसन्धान अधिकृतले भने, ‘मानव बेचबिखनका गिरोहहरु प्रहरी र अन्य सरोकारवाला निकायको ध्यान नपग्ने बाटो खोज्नेक्रममा यस्तो तरिका अपनाएका हुन् । पैसा खर्च हुन्छ भनेर डराउँदैनन, प्रहरीको आँखा छल्न मानव बेचबिखनका गिरोहले अनेक उपाय लगाइरहेका हुन्छन् ।’
 
गत पुस महिनामा नारायणगढ पुल्चोकबाट डिलक्स बसको टिकट काट्दै गर्दा ६ जना युवतीलाई प्रहरी उद्धार ग¥यो । यस घटनामा संलग्न २ अभियुक्त पनि तत्कालै पक्राउ परे ।
 
काठमाडौंबाट माइक्रोमा आरामदायी यात्रा गर्दै आएका ती युवतीहरु नारायणगढबाट महेन्द्रनगरतर्फ डिलक्स बसमा जाने तयारीमा थिए । आफूहरु बेचिन गएको कुरा उनीहरुलाई कत्ति पनि थाहा थिएन । जब प्रहरीले उनीहरुलाई बेच्न लगेका दुई युवती मुना सिलवाल र नमिता भण्डारीलाई पक्राउ गरी मुद्दा चलायो बल्ल उनीहरु आफू बेचिन लागेको पत्तो पाए ।
 
घटनाका आरोपित सिलवाल र भण्डारीलाई चितवन जिल्ला अदालतको फागुन ५ गते १० वर्ष कैद र ५० हजार जरिबाना फैसला गरेको थियो ।
 
त्यस्तै, माघ महिनामा चितवन प्रहरीले भरतपुरमा रहेको एक ठूलो होटलबाट ४ युवतीलाई उद्धार ग¥यो । आफूहरु रोजगारका लागि किर्गिस्तान जान नारायणगढ हुँदै भारत जान लागेको र भारतबाट किर्गिस्तान जाने योजना गिरोहले बनाएको उद्दार गरिएकी मध्ये एकले बताइन् ।
 
‘महँगो होटलमा बसियो । दुई दिन हुँदा पनि सम्बन्धित मान्छे आउँदैनन्’ बेचिन लगिएकी २४ वर्षीया एक युवतीले प्रहरीसँगको बयानको क्रममा भनिन्, ‘हामीहरुलाई नै अप्ठेरो लागेपछि प्रहरीलाई बोलाएका हौँ । प्रहरीले आरोपितको खोजी गरी अनुसन्धान थालेपछि आफूहरुलाई रोजगारको बहानामा बेच्न खोजिएको उनीहरुले थाहा पाएका थिए ।
 
चितवन पछिल्लो समय मानव बेचबिखनको लागि ओसारपसार गर्ने केन्द्रविन्दु नै बनेको बताउँदै चितवन प्रहरी प्रवक्ता डिएसपी राजन अधिकारीले भने, ‘रोजगारको लोभमा युवतीहरु दलालको फन्दामा पर्ने गरेका छन् ।’
 
यस घटनाका आरोपीतहरु चितवन मंगलपुर बस्ने वर्ष ४० का सञ्जय तामाड, तनहुँ केशवटारका ४० वर्षका टोलाराम थापा, स्याङ्जा पंचमुलका २५ वर्षका राजु गुरुङ र धादिड गजुरीका दयाराज कँडेल रहेका छन् । यस घटनाका नवीन तामाङ अझै फरार रहेको प्रहरीले जनाएको छ ।