चितवन । भारतको अघोषित नाकाबन्दीको असर पूरै हटेको छैन । यस्तो बेलामा भारतीय राजदूत रञ्जित रेको प्रमुख आतिथ्यमा भरतपुरमा कार्यक्रम भयो ।
कार्यक्रमका वक्ताहरुले नाकाबन्दीबारे खासै चर्चा गरेनन् । तर स्वयम् राजदूतले नेपाल भारत सम्बन्धमा उतार चढाव आउने गरेको र पछिल्लो समयमा बिग्रेको सम्बन्ध प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि पुरानै अवस्था फर्किएको दाबी गरे ।
‘मलाई थाहा छ, पछिल्ला दिनहरुमा केही कठिनाइहरु थिए । अब ती दूर भएका छन्’ राजदूत रेले भने । प्रधानमन्त्री ओलीको भारत भ्रमणले केही समययता बिग्रेको नेपाल भारत सम्बन्धलाई फेरि पुरानै ठाउँमा ल्याउन सकेकोे दावी गरे ।
नारी दिवसको अवसरमा नेपाल भारत महिलामैत्री समाजले भरतपुरमा आयोजना गरेको कार्यक्रममा राजदूत रेले आफ्नो धारणा राखेका हुन् ।
‘भारत–नेपाल सम्बन्धमा उतारचढाव आइरहन्छ । त्यस्तो अवस्थमा वार्ताबाट त्यसलाई हल गरेका छौँ । पछिल्ला समयमा पनि केही कठिनाइहरु आए, तर अब ती हटिसकेका छन् । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण निकै राम्रो रह्यो र यसले हाम्रो सम्बन्धलाई पूरानो अवस्थामा छ र अहिले निकै रफ्तारमा अगाडि बढेको छ’ राजदूत रेले भने ।
नेपाली संविधानमा महिलाका पक्षमा भएका व्यवस्थाहरु ठूला उपलब्धि भएको उनले बताए । ‘राम्रो कानुन बनाउन आवश्यकता छ, साथसाथै त्यस्लाई कसरी कार्यान्वयन गर्ने त्यो विषयमा पनि सोच्नुपर्छ’ राजदूत रेले भने ।
शिक्षाले जागरण ल्याउने र बनेका कानुन कार्यन्वयनमा मद्दत गर्ने भएकाले भारत सरकारले नेपालमा सञ्चालन हुने योजनामा विद्यालय निर्माण र छात्रावृत्तिलाई प्राथमिकता दिएको उनले बताए ।
कार्यक्रममा वीरगञ्जमा रहेको भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत अञ्जु रञ्जनले महिला सशक्तीकरणका योजनाहरुमा पनि भारत सरकारले सहयोग गर्न सक्ने बताइन् । ‘भारत सरकारको सहयोगमा देशभर चार सयभन्दा धेरै आयोजनाहरु सञ्चालन छन् ।
तर महिलाका मात्रै आयोजना छैनन् । महिला सशक्तीकरणमा मद्दत पुग्ने आयोजना माग्नुहोस् म सहयोग गर्छु’ उनले भनिन् ।
‘नेपाल महिला सशक्तीकरणमा दिलचस्पी राख्ने देश हो । राष्ट्रपति सभामुखजस्ता ठूला पदमा महिला पुगेका छन् । तर ग्रामीण तहमा अझै पनि जागरण अवश्यकता छ । त्यसका लागि के कार्यक्रम चाहिन्छ तपाइँहरु तयार गर्नुहोस् । म पास गराउन सहयोग गर्छु’ कार्यक्रमका आयोजकलाई रञ्जनले अपिल गरिन् । आयोजक संस्था नेपाल भारत महिला मैत्री समाज तीन वर्षअघि गठन भएको हो ।
मैत्री समाजकी अध्यक्ष चन्दा चौधरीले दूतावासले महिला सशक्तीकरणका योजनामा लगानी गर्नुपर्ने बताइन् । कार्यक्रममा चितवन क्षेत्र नं. ५ का सांसद विक्रम पाण्डे, क्षेत्र नं. ३ का सांसद कृष्णभक्त पोखरेल, एमाले नेता पार्वती रावल र कतारका लागि पूर्वनेपाली राजदूत माया शर्माले मन्तव्य दिएका थिए ।
प्रतिक्रिया