मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सहमतिको सरकार बनाउन पहल गर्छु : दाहाल

सहमतिको सरकार बनाउन पहल गर्छु : दाहाल


चितवन । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले आफू काठमाडौँ फर्किएलगत्तै नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवासँग भेटी राष्ट्रिय सहमतिको सरकार बनाउन पहल सुरु गर्ने बताएका छन् ।
 
पश्चिम चितवनको नारायणी नगरपालिका–४ अमृतनगरमा निर्मित सहिद स्मारक प्रतीक्षालयको उद्घाटन गर्दै उनले प्रमुख दलहरु सरकारमा नै रहेर संविधान कार्यान्वयन र पुनः निमार्णमा जुट्नुपर्ने बताए ।
 
उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक दाहालले १६ बुँदे सहमतिअनुरुप काँग्रेस, नेकपा (एमाले), एमाओवादीसहितका दलको सहभागितामा सरकार निर्माणका लागि समितिको बैठक बसेर पहल सुरु गरिने बताए । उनले भने, ‘संविधान कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण र राष्ट्रिय एकता एवम् समृद्धिका लागि सबै दल एक ठाउँमा उभिनुपर्छ ।’
 
उनले मङ्गलपुरबाट मेघौलीसम्म जाने सडक कालोपत्रे गर्न, चितवन राष्ट्रिय निकुञ्जका जनावरबाट प्रभावित जनतालाई उचित राहत दिलाउन र नदी कटान रोक्न आवश्यक पहल गरिने आश्वासन पनि दिए ।
 
सोही क्षेत्रमा विसं २०४२ मा मारिएका मित्रमणि आचार्य तथा २०५९ सालमा एकै साथ मारिएका तारा काफ्ले, कमल फुयाँल, राजु अधिकारी, कालीबहादुर तामाङ र सीता विकको स्मृतिमा एमाओवादीले प्रतीक्षालय बनाएको हो ।
 
नारायणी नगरपालिकाका एमाओवादीका अध्यक्ष विजय भुजेलका अनुसार  तीन लाख ५० हजारको लागतमा प्रतीक्षालय निर्माण गरिएको हो ।
 
 
‘पार्टी एकता जरुरी’
प्रचण्डले देशलाई समृद्ध बनाउन माओवादी पार्टीहरुबीच एकता हुन जरुरी रहेको बताएका छन् ।
 
पार्टीका शुभचिन्तक रत्ननगर ३ बेल्सी निवासी रामचन्द्र खनालको पुण्यतिथिमा मंगलबार आयोजित श्रद्धाञ्जली सभामा माओवादी फुटेर पार्टीलाई मात्र नभई मुलुकलाई नै नोक्सानी पुगेको भन्दै उनले देश र जनताको हितका लागि माओवादी एकता अपरिहार्य रहेको बताए । प्रचण्डले पार्टी एकताको लागि आफूले पहल गरिरहेको बताए । कमरेड वैद्य र विप्लबसँग पार्टी एकताको लागि छलफल भइरहेको भन्दै प्रचण्डले उनीहरु ठूलो छाती बनाएर एकताको सुत्रमा आउने विश्वास व्यक्त गरे ।
 
संविधान बनाएर दलहरुले राष्ट्रिय एकताको झण्डा उठाएको भन्दै उनले पहिला बामबन्थी एकता र त्यसपछि राष्ट्रिय एकता हुन जरुरी रहेको बताए । भूकम्पलगतै भारतले गरेको नाकाबन्दीको सामना गर्न नेपाली जनताले देखाएको धैर्यताले भारतसँग झुक्न नपरेको भन्दै प्रचण्डले मुलुकका लागि नेपाली जनतामा यस्तै एकता हुनुपर्नेमा जोड दिए ।