मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अब राष्ट्रिय सहमतिको सरकार बनाऔँ : दाहाल

अब राष्ट्रिय सहमतिको सरकार बनाऔँ : दाहाल


चितवन, २५ फागुन । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आफू काठमाडौँ फर्किएलगत्तै नेपाली काँग्रेसका नवनिर्वाचित सभापतिसँग भेटी राष्ट्रिय सहमतिको सरकार बनाउन पहल सुरु गर्ने बताउनुभएको छ । 

 
पश्चिम चितवनको नारायणी नगरपालिका–४ अमृतनगरमा निर्मित सहिद स्मारक प्रतीक्षालयको आज उद्घाटन गर्दै उहाँले प्रमुख दलहरु सरकारमा नै रहेर संविधान कार्यान्वयन र पुनः निमार्णमा जुट्नुपर्ने बताउनुभयो । 
 
उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक दाहालले १६ बुँदे सहमति अनुरुप नै काँग्रेस, नेकपा(एमाले), एमाओवादी सहितका दलको सहभागितामा सरकार निर्माणका लागि समितिको बैठक बसेर पहल सुरु गरिने बताउनुभयो । उहाँले भन्नुभयो “संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र राष्ट्रिय एकता एवम् समृद्धिका लागि सबै दल एक ठाउँमा उभिनुपर्छ । 
 
सो अवसरमा उहाँले माओवादीबीचको एकताको गृहकार्य अन्तिम चरणमा पुगेको पनि बताउनुभयो । सो क्षेत्रमा मङ्गलपुरबाट मेघौलीसम्म जाने सडक कालोपत्रे गर्न, चितवन राष्ट्रिय निकुञ्जका जनावरबाट प्रभावित जनतालाई उचित राहत दिलाउन र नदी कटान रोक्न आवश्यक पहल गरिने आश्वासन पनि उहाँले दिनुभयो । 
 
सोही क्षेत्रमा विसं २०४२ मा मारिएका मित्रमणि आचार्य तथा २०५९ सालमा एकै साथ मारिएका तारा काफ्ले, कमल फुयाँल, राजु अधिकारी, कालीबहादुर तामाङ र सीता विकको स्मृतिमा एमाओवादीले सो प्रतीक्षालय बनाएको हो । 
 
नारायणी नगरपालिकाका एमाओवादीका अध्यक्ष विजय भुजेलका अनुसार रु तीन लाख ५० हजारको लागतमा प्रतीक्षालय निर्माण गरिएको हो ।