मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

इन्धन सहज हुन अझै एक हप्ता लाग्ने

इन्धन सहज हुन अझै एक हप्ता लाग्ने


चितवन । प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले चितवनमा इन्धन सहज हुन अझै एक हप्ता लाग्ने बताएका छन् । 
 
जिल्ला प्रहरी कार्यालय चितवनले शनिबार रत्ननगरमा आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा उनले नाकाबन्दी खुलेको भए पनि आयल निगलले आवश्यक इन्धन उपलब्ध नगराएकाले चितवनमा इन्धन सहज हुन नसकेको बताए । उनले भने, ‘फागुन महिनाको अन्त्यसम्म जिल्लामा इन्धन सहज बनाउन पहल भइरहेको छ ।’ 
 
प्रजिअ सिंहले चितवनमा हप्तामा दुई दिन इन्धन सहज रहेको जानकारी गराए । ‘दुई दिन इन्धन सहज भएका बेला इन्धन भर्नुहोला’ उनले भने, ‘चितवनमा दैनिक एक लाख ५ हजार इन्धन आवश्यक पर्छ, तर अहिले दैनिक एक लाख लिटरमात्र इन्धन आइरहेको छ ।’   
 
अहिले चितवनमा ५० हजार लिटर इन्धन अभाव भएको उनको भनाइ थियो । कुपन वितरणमा ८० प्रतिशत बन्द गरिएको भन्दै उनले अत्यावश्यक सेवाका लागि जिल्ला प्रशासन कार्यालयले इन्धन उपलब्ध गराउने बताए । 
 
एम्बुलेन्स, अस्पताल, शैक्षिक संस्था, पोल्ट्री, कृषि र पत्रकारहरुलाई अझै प्रशासन कार्यालयले इन्धन उपलब्ध गराउने उनको भनाइ छ । पहुँच वालालाई मात्र कुपन वितरण गरियो भन्ने गुनासो आइरहेका बेला उनले अत्यावश्यक सेवा र राजनीतिक दल तथा सरकारी कर्मचारीहरुलाई आफूले कुपन वितरण गरेको स्वीकार गरे । ‘नागरिकको गुनासोलाई म नकार्दिन’ उनले भने, ‘तर कुपन वितरणमा मनोमानी भएको छैन ।’ 
 
कालोबजारी नियन्त्रणमा जिल्ला प्रशासन कार्यालय प्रतिबद्ध रहेको भन्दै उनले त्यसका लागि आवश्यक कदम चालिरहेको बताए । कार्यक्रममा जिल्ला प्रहरी चितवनका प्रमुख प्रहरी उपरीक्षक बसन्त कुँवरले इन्धन कालोबजारी रोक्न प्रहरीले सक्रियता बढाएको बताए । उनले फागुन १ गते देखि २० गतेसम्म ५१५ लिटर अवैध पेट्रोल र ४२ हजार १२० लिटर अवैध डिजेल बरामद गरिएको जानकारी दिए । 
 
प्रहरी उपरीक्षक कुँवरले ४१४ लिटर पेट्रोल र १५ हजार ८४० हजार लिटर डिजेल लिलाम विक्री गरी १२ लाख १९ हजार ६३४ रुपैयाँ राजस्व संकलन गरिएको बताए । उनले भने, ‘यो समयमा इन्धन कालोबजारीका ७ वटा मुद्दा दर्ता गरिएको छ ।’ 
 
इलाका प्रहरी कार्यालय रत्ननगरको व्यवस्थापनमा भएको कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय भरतपुरका प्रमुख राजन भेटवाल, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विसुरा, रेवान सौराहाका अध्यक्ष राजन भट्ट, नागरिक सरोकार मञ्च चितवनका अध्यक्ष चन्द्रकान्त ओझा, टोल विकास संस्था वडा समन्वय समिति रत्ननगर ८ का संयोजक ज्ञानेन्द्रराज पाण्डे, सामुदायिक सेवा केन्द्रका श्याम बराल, टोल विकास संस्था वडा समन्वय समिति रत्ननगर १२ का संयोजक पूर्ण पुरीलगायतले मन्तव्य दिए ।
 
कार्यक्रम जिल्ला प्रहरी चितवनका प्रमुख प्रहरी उपरीक्षक बसन्त कुँवरको अध्यक्षतामा भएको थियो ।