काठमाडौँ, २२ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकका प्रधानन्यायाधीश, न्यायाधीश एवम् कानुन व्यवसायीहरूको १३औँ सम्मेलन तथा सार्क राष्ट्रका प्रधानन्यायाधीशको १०औँ सम्मेलनको आज यहाँ आयोजित विशेष समारोहमा उद्घाटन गर्नुभयो ।
त्यस अवसरमा उहाँले सार्क देशका कानुन व्यवसायी तथा कानुनका अध्यापकहरूको साझा संस्था सार्क लको स्थापना एवम् सञ्चालनमा विशेष योगदान गर्नुभएका पाकिस्तान, भारत र नेपालका न्यायाधीशहरूको स्मृतिमा बनाइएको स्मृतिपत्र उहाँहरूका परिवारजनलाई प्रदान गर्नुभयो ।
राष्ट्रपति भण्डारीले सार्कलाई वर्तमान अवस्थामा पु¥याउन अतुलनीय योगदान गर्नुभएका पाकिस्तानका पूर्व प्रधानन्यायाधीश नसिम हसन शाह, भारतको सर्वोच्च अदालतका पूर्व न्यायाधीश तथा उक्त संस्थाका संस्थापक सदस्य उमेशचन्द्र बनर्जी र नेपालको सर्वोच्च अदालतका अस्थायी न्यायाधीश भरतराज उप्रेतीका परिवारलाई स्मृतिपत्र प्रदान गर्नुभएको हो ।
दिवङ्गत न्यायमूर्ति शाह २५ वर्षअघि स्थापना भएको सार्क ल को संरक्षक, श्री बनर्जी संस्थापक सदस्य र न्यायाधीश उप्रेती उक्त संस्थाको महासचिव हुनुहुन्थ्यो ।
राष्ट्रपति भण्डारीको उपस्थितिमा सार्क मुलुकका महिलाको न्यायमा पहलकदमीको घोषणा पनि गरिएको थियो ।
दुई दिनसम्म चल्ने उक्त सम्मेलनको मूल विषय ‘कानुन, न्याय, सुशासन र विकासका माध्यमबाट सार्कमा सम्बन्ध विस्तार’ रहेको छ ।
सम्मेलनमा माल्दिभ्सबाहेक सार्कका सबै राष्ट्रको सहभागिता छ भने नेपालबाट १५१ जना गरी ३५० जनाभन्दा बढी कानुन व्यवसायी, न्यायाधीश र कानुनका अध्यापकहरूको सहभागिता रहेको छ । सर्वोच्च अदालत र सार्क ल नेपालले संयुक्त रूपमा उक्त सम्मेलन आयोजना गरेको हो । रासस
प्रतिक्रिया