मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

व्यापक विरोधको बादजुद पाँच गैँडा बर्दिया लगियो

व्यापक विरोधको बादजुद पाँच गैँडा बर्दिया लगियो


चितवन, २२ फागुन । संरक्षणकर्मीको व्यापक विरोधको बादजुद पनि चितवनका पाँचवटा गैँडा बर्दियामा स्थानान्तरण गरिएको छ । पछिल्लो पटक शुक्रबार दुई पोथी गैँडा नियन्त्रणमा लिएर शनिबार बर्दिया राष्ट्रिय निकुञ्जमा छाडिएको छ । 
 
चितवन राष्ट्रिय निकुञ्जको पश्चिमतर्फको सुखीभार घाँसेमैदान क्षेत्रबाट फागुन १८ गतेदेखि  सुरु गरिएको गैँडा स्थानान्तरण कार्य हालका लागि सकिएको छ । फागुन १८ गते एउटा, १९ गते दुई र शुक्रबार दुई गरी पाँचवटा गैँडा चितवन राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिएर बर्दिया स्थानान्तरण गरिएको हो । जसमध्ये तीन पोथी र दुईवटा भाले गैँडा रहेका छन् । 
 
दिउँसो नियन्त्रणमा लिने र रातभरको यात्रापछि बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यकामा छाडिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्याललले जानकारी दिनुभयो ।  चितवनका स्थानीय संरक्षणकर्मीले बर्दियामा गैँडाको संरक्षण हुन नसकेको भन्दै स्थानान्तरणको विरोध गरेका थिए ।  
 
यसअघि चितवन राष्ट्रिय निकुञ्जको इचर्नी टापु क्षेत्रबाट सन् १९८४ देखि सन् २००३ सम्मको नौ वर्षको अवधिमा ७८ गैँडा बर्दिया राष्ट्रिय निकुञ्ज र पाँचवटा गैँडा शुक्लाफाँटा आरक्षणमा स्थानान्तरण गरिएका थिए ।
 
स्थानान्तरण गरिएकामध्ये यतिबेला केवल २९ वटा बाँकी छन् भने शुक्लाफाँटाका पाँच गैँडा गत वर्षको गणनामा आठ पुगेका छन् । ७० वटा गैँडा छोडिएको बबई उपत्यकामा २०६२ सालमा बाँकी तीनवटा गैँडा सिकारीले मारेपछि त्यहाँ गैँडाको सङ्ख्या शून्य भएको थियो । 
 
सरुवा रोग र महामारीबाट बचाउने उद्देश्यले गैँडालाई फरक स्थानमा स्थानान्तरण गर्ने गरिन्छ । यसरी स्थानान्तरण गरिएको खण्डमा एउटा क्षेत्रमा हुन सक्ने महामारीले अर्को क्षेत्रको सङ्ख्या बाँकी रहन सक्दछ भन्ने मान्यताले गैँडाको स्थानान्तरण गरिँदै आएको भए पनि बर्दियामा स्थानान्तरण गरिएका गैँडाको कुनै संरक्षण हुन सकेको थिएन । छोटो समयमा चोर–सिकारीबाट गैँडा मारिए । चितवनबाट तीन वर्षभित्रमा २० पोथी र पाँच भाले गरी २५ वटा गैँडा बर्दियामा र चार पोथी र एक भाले गरी पाँचवटा गैँडा शुक्लाफाँटामा स्थानान्तरण गर्ने योजना छ ।
 
पछिल्लो गैँडा गणनामा चितवन राष्ट्रिय निकुञ्ज र यसको आसपासको क्षेत्रमा ६०५ वटा गैँडा भेटिएका छन् । त्यो सङ्ख्या सन् २०११ मा ५०३ थियो । अघिल्लो गणनामा २४ वटा गैँडा भेटिएको बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र र यसको वरपरको क्षेत्रमा यस पटक पाँचवटा गैँडा बढी गणना भएका छन् । 
 
सन् २०११ मा सातवटा गैँडा भेटिएको शुक्लाफाँटामा पछिल्लो गणनामा आठवटा गैँडा भेटिएको थियो । अघिल्लो स्थानान्तरणपछि गैँडा बचाउन नसकिएको अवस्थालाई मध्यनजर गर्दै बर्दिया राष्ट्रिय निकुञ्जमा यस पटक संरक्षणमा कडाइ गरिएको छ ।
 
चितवनमा गैँडा स्थानान्तरणको विरोध भइरहेका बेला बर्दिया राष्ट्रिय निकुञ्जले भने सुरक्षा र बासस्थानको राम्रो प्रबन्ध मिलाइएकाले पहिलेजस्तो गरी गैँडा नमर्ने दाबी गरेको छ । रासस