मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काँग्रेस महाधिवेशनपछि सरकार परिवर्तन हैन विस्तार हुन्छ : प्रधानमन्त्री

काँग्रेस महाधिवेशनपछि सरकार परिवर्तन हैन विस्तार हुन्छ : प्रधानमन्त्री


काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पार्टी नेकपा (एमाले) को पहल र अडानका कारण नयाँ संविधान बनेकाले संविधान कार्यान्वयनको अगुवाइ पनि यसैले गर्ने बताउनुभएको छ । 
 
सुखानीका सहिदको ४३ औँ स्मृति दिवसका सन्दर्भमा एमाले काठमाडौँ जिल्ला कमिटीद्वारा आज यहाँ आयोजित ‘सहिदको सपना र समृद्ध नेपाल’ विषयको विचार गोष्ठीमा प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसको महाधिवेशनतर्फ लक्ष्यित गर्दै संविधानको कार्यान्वयन गर्न बाँकी भन्दै केही उम्मेदवारले मत मागेको सन्दर्भमा अलमलमा पर्नुपर्ने आवश्यकता नरहेको आफ्ना कार्यकर्तालाई स्पष्ट गर्नुभयो । 
 
उहाँले भन्नुभयो – “संविधान बनाउन एमालेको पहल र दृढ अडानबाट संविधान बनेको हो । यो सबैलाई थाहा छ । काँग्रेसको महाधिवेशन पछि सरकार परिवर्तन हुन्छ पनि भनिएको छ । त्यो भाषा मिलेन । कुरा के हो भने महाधिवेशनपछि सरकार विस्तार हुन्छ । काँग्रेस पनि सरकारमा आउँछ तर आएन भने पनि लोकतान्त्रिक विधिअनुसार सरकार अघि बढ्छ ।” 
 
सरकारले पुनःनिर्माणको अभियान सुरु गरिसकेको र अघोषित नाकाबन्दीबाट मुलुकलाई पार लगाउन थालेको सन्दर्भमा सरकारबारेमा भ्रममा नपर्न आग्रह गर्दै उहाँले जनताले एमालेप्रति विश्वास बढाउँदै आएकाले देशव्यापी प्रवेशको लहर बढ्ने विश्वास व्यक्त गर्नुभयो । 
 
उहाँले एमाले ऊर्जा विकासलगायतका कामबाट देश बनाउने सङ्कल्पमा रहेकाले सबै पार्टीबाट प्रवेशका लागि आह्वान गर्दै अब चर्का कुरा गर्ने, विध्वंश मच्चाउने र अलमलमा पर्नुपर्ने कुनै आवश्यकता नरहेको जनाउनुभयो । वर्तमान सरकारलाई मजबुत बनाउनुपर्ने र अबको निर्वाचनमा एमालेलाई पहिलो शक्ति बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । 
 
“केही व्यक्तिले नाकाबन्दीले निस्सासिएर वा छिमेकीको सम्बन्ध बिग्रिएर यो सरकार ढल्छ भन्न थालेका थिए तर छिमेकीसँगको सम्बन्ध सुधारले विरोधीलाई छटपटि भएको हुन सक्छ,” उहाँले भन्नुभयो – “एमालेको मन लिएर अर्को पार्टीमा बसेका र मुलुक बनाउने पक्षमा रहेका सबैलाई गाउँगाउँमा गएर एमालेमा फर्काउन म आह्वान गर्दछु ।”
 
नेकपा ९एमाले० का अध्यक्षसमेत रहनुभएका ओलीले नेपालमा कम्युनिस्ट पार्टीको स्थापनासँगै गणतन्त्र, राष्ट्रिय एकता र जाति, भाषा, धर्मको सम्मान तथा समान अधिकारको आवाज उठाउँदै आएकामा विसं २०२७ देखि झापाबाट गणतन्त्र स्थापनाको स्पष्ट लक्ष्यसहित गरिएको आन्दोलन अहिले पूरा भएको बताउनुभयो । 
 
उहाँले भन्नुभयो – “विभाजित कम्युनिस्ट समूह र घटकलाई एउटै मोर्चामा ल्याउने अभियान त्यहीँबाट सुरु भयो, जुन आज पनि जारी छ । कम्युनिस्ट पार्टीका नाममा विभाजित भएर जानु वा एकमुष्ट विचार प्रस्तुत गर्न नसक्नु हाम्रा कमजोरी थिए । अहिले वामपन्थी आन्दोलनकै धारबाट संसद्बाट निर्वाचित राष्ट्रपति र सरकारको नेतृत्वमा पुगेको छ । विचार, सङ्गठन र आन्दोलनलाई पुनःगठन गर्दै अघि बढेको यो आन्दोलनलाई अगुवाइ गर्ने ठाउँमा एमाले आइपुगेको छ ।” 
 
हरेक २१ फागुनको दिन नेपाली राजनीतिको सहादतको इतिहासमा विशेष महत्व रहेको भन्दै उहाँले राजतन्त्रको विरोध र लोकतान्त्रिक गणतन्त्रको आन्दोलन सञ्चालन गर्दा जेलबाट निकालेर पञ्चायती सरकारले विरोधीहरूलाई गोली हानेर क्रुरतापूर्वक हत्या गरिएका घटना साधारण नभएको टिप्पणी गर्नुभयो । 
 
भीमदत्त पन्त, दुर्गानन्द झा, ऋषि देवकोटा आजादलगायत झापा आन्दोलनका योद्धालाई आफ्नो सरकारले निर्विवादरूपमा सहिदका रूपमा घोषणाको निर्णय गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो – “देश र जनताका लागि जीवन आहुति दिनेलाई सम्मान हुन्छ भन्ने कुराको झलक हो । अन्य सहिदको पहिचानको काम पनि भइरहेको छ ।”
 
पञ्चायतको विरोधमा लागेको आरोपमा तत्कालीन सरकारले रामनाथ ढकाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायणप्रसाद श्रेष्ठ, वीरेन राजवंंशीलाई २०२९ फागुन २१ गते जेल सार्ने निहुँमा झापा र इलामबीचको सुखानी जङ्गलमा हत्या गरेको थियो । एमालेले उहाँहरूको स्मृतिमा हरेक वर्ष सहिद दिवस मनाउँदै आएको थियो । नेपाल सरकारले यही फागुन १९ गते ती पाँचसहित विभिन्न समयका योद्धालाई सहिद घोषणा गरेको थियो । 
एमालेका सचिव प्रदीप ज्ञवालीले जनतालाई विचारको जगबाट उत्प्रेरित गर्नुपर्छ भन्ने प्रेरणा झापा आन्दोलनले दिएको र अहिले कम्युनिस्ट आन्दोलनको पुनःगठनको क्रम राष्ट्रिय राजनीतिको केन्द्रमा पुगेको बताउनुभयो । 
 
उहाँले मुलुकमा लामो समय नेपाली काँग्रेसको सरकार बने पनि आर्थिक विकास र समृद्धिका क्षेत्रमा काम हुन नसकेको सन्दर्भमा वर्तमान सरकारले अघि सारेका समृद्ध नेपालका कामलाई पूरा गर्न सबै जुट्नुपर्ने बताउनुभयो । 
 
पोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठले सहिदको त्याग र बलिदानप्रतिको सम्मान मुलुकको आर्थिक समृद्धि एक मात्र विकल्प भएको बताउनुभयो । केन्द्रीय सदस्य जीवनराम श्रेष्ठले अब राजनीतिक अस्थिरता र सरकारको फेरबदल भन्दा पनि आर्थिक क्रान्तिमा लाग्नुपर्ने र त्यसका लागि सर्वदलीय सरकार गठन हुनुपर्ने बताउनुभयो । 
 
जिल्ला कमिटीका अध्यक्ष कृष्ण राईले योद्धालाई सरकारले सहिद घोषणा गरेकामा स्वागत गर्नुभयो भने सहिद नेत्र घिमिरेका धर्मपत्नी तथा सांसद जीवन घिमिरेले सुखानीका सहिदको बलिदानीप्रति सम्मान दर्शाउन सरकारले सहिद घोषणा गरेकामा आभार व्यक्त गर्नुभयो । 
 
एमालेमा प्रवेश
कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न पार्टीका कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउनुभयो । 
 
नेकपा क्रान्तिकारी माओवादीका विनोद थापा, एमाओवादीका कामनपा क्षेत्र नं २ का गोपीलाल बस्याल, विनोद कमर, अर्जुन कमर, भरत कमर, रत्नबहादुर कमर, तोयनाथ घिमिरेलगायत २०० लाई पार्टी प्रवेश गराइएको थियो । कार्यक्रममा प्रशान्त डङ्गोलको ‘गुठीका फूलहरू’ नामक पुस्तकको पनि लोकार्पण गरिएको थियो । रासस