नेपाल

भूकम्प प्रभावित शिविरमा झाडावान्ताको प्रकोप

भूकम्प प्रभावित शिविरमा झाडावान्ताको प्रकोप


गोरखा, २० फागुन । भूकम्प प्रभावित उत्तरी गोरखाका विभिन्न गाविसमा झाडाबान्ता, ज्वरो, रगतमासी, रुघाखोकीजस्ता रोगको प्रकोप फैलिएको छ । उहिया, केरौँजा र सामा गाविस भित्र शिविरमा बसोबास गर्दै आएका भूकम्प प्रभावित रोगले थलिएका छन् । 
 
भूकम्पका बेला भत्किएका स्वास्थ्यचौकी मर्मत भएका छैनन् । टेन्टभित्र सञ्चालित स्वास्थ्य संस्थामा औषधिको अभाव हुनुका साथै पर्याप्त स्वास्थ्यकर्मी नहुँदा भूकम्पपीडितले समयमै उपचार सेवा नपाएका हुन् । अहेव र अनमीको भरमा भूकम्पपीडित बिरामीको उपचार सुरु गरिए पनि घरैपिच्छे बिरामी भएकाले प्रकोप नियन्त्रणमा आएको छैन । 
 
मौसममा आएको परिवर्तन (जाडो सकिएर गर्मी सुरु भएको), अस्थायी शिविरमा बस्दा पिउने पानीको अभाव, अशुद्ध पानी पिउनु, चारैतिर खुल्ला रहेको शिविरमा चिसो स्याँठको सामना गर्नुपर्दा एकपछि अर्को गर्दै भूकम्पपीडित बिरामी परेका हुन् । सामागाउँमा ३० जना बालबालिकासहित ५० जनाभन्दा बढी घरमूली बिरामी परेको पन्ध्र दिन बितिसक्यो । 
 
स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र क्यान नेपाल नामक संस्थाका अनमीले बिरामीको उपचार गरिरहेका छन् । झाडाबान्तालगायत विभिन्न रोगको प्रकोप फैलिएको अस्थायी शिविरमा जिल्ला जनस्वास्थ्य कार्यालयले ढिला गरी स्वास्थ्यकर्मी र औषधि पठाउँदा बिरामीको सङ्ख्या दिनहुँ बढ्दो छ ।
 
उहियाकी सुनिता गुरुङका अनुसार दुई साताअघि देखि गाउँमा फैलिएको झाडाबान्ताले अधिकांश गाउँले थला परेका छन् । घरैपिच्छे दुई÷तीनजनाका दरले बिरामी रहेको भन्दै गुरुङले भन्नुभयो, “स्वास्थ्यकर्मीले बिरामीको उपचार गरिरहेका छन् ।” बिरामी हुने क्रम नरोकिएको भन्दै स्थानीयवासीले थप स्वास्थ्यकर्मी र औषधिको माग गरेका छन् । 
 
उहियाको ४, ५, ६ र ७ वडाका विभिन्न ठाउँमा अस्थायी शिविर खडा गरी बसोबास गर्दै आएका भूकम्पपीडित झाडाबान्ताले गर्दा बिरामी परेका हुन् । स्थानीय शिक्षक जितलाल गुरुङका अनुसार गाउँका तीन सयओटा अस्थायी टहरामा बस्दै आएका मानिस बिरामी छन् । बालबालिका, वृद्धवृद्धाका साथै युवायुवती पनि बिरामी परेकाले उपचार गर्न सदरमुकाम झर्ने अवस्था नरहेको उहाँको भनाइ छ । 
 
“स्वास्थ्यकर्मीले उपचार गरिरहेका छन् । तर रोग नियन्त्रणमा आएन”, उहाँले भन्नुभयो, “भूकम्पपछि जहाँ पायो त्यहीँको पानी पिउँदा रोगले सताएको हुनुपर्छ ।” जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका महामारी शाखा हेर्दै आएका कर्मचारी नानीबाबु दानीले सामागाउँ, उहिया र केरौँजाको हुल्चोकलगायत क्षेत्रमा झाडाबान्ता फैलिएका बारे जानकारी भएको भन्दै स्वास्थ्यकर्मी र औषधि पठाएको बताउनुभएको छ । 
 
भौगोलिक विकटता र भूकम्पपछिको पहिरोले मनास्लु पदमार्ग अवरुद्ध हुँदा उत्तरी क्षेत्रमा स्वास्थ्यकर्मी आवागमन र औषधि ढुवानीमा समस्या देखापरेको हो । गत १२ वैशाखमा गएको भूकम्पले घर भत्केपछि उत्तरी भेगका अधिकांश भूकम्पपीडित सुरक्षित ठाउँ खोज्दै पुरानो गाउँभन्दा केही तलमाथिका क्षेत्रमा बसोबास गर्दै आएका छन् । हिउँदभर नयाँ घर बनाउने काम नभएकाले बर्खामा झन् अनेक खाले समस्या खेप्नुपर्ने भूकम्पपीडितको भनाइ छ । रासस
 

शेयर गर्नुहोस:

0
Shares